मनाङमा कोरोना जित्ने बढ्दै

२०७८ जेष्ठ १०, सोमबार १०:४१

हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् ।

केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् ।

धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

उनले २१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको बताए । आचार्यका अनुसार त्यसमध्ये छ सङ्क्रमित सामुदायिक आइसोलेशनमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा छन् । मनाङका चार स्थानीय तहमध्ये सङ्क्रमितहरु दुई वटा पालिकाका हुन् । दोस्रो लहरको कोरोना सङ्क्रमणबाट चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा बढी प्रभाव पारेको उनले बताए । नासो गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य छ ।

“यसपटकको कोरोना सङ्क्रमणले चामे र मनाङ ङिस्याङवासीलाई प्रभाव पा¥यो, हाल मनाङमा सङ्क्रमित थपिने क्रम न्यून हुँदै गएको छ, पहिले सङ्क्रमित ह्वात्तै बढ्दा उपचार गर्न समस्या हुने पो हो कि जस्तो एक किसिमको डर पैदा भएको थियो, अहिले निको हुने बढ्दै गएपछि खुशी लागेको छ, अब छिट्टै मनाङका सङ्क्रमित निको हुनेछन्”, आचार्यले भने । मनाङवासीले समयमै सचेतता अपनाएपछि सङ्क्रमण बढ्नुभन्दा न्यूनीकरणतर्फ उन्मुख भएको पाइएको स्वास्थ्य कार्यालयले मनाङले जनाएको छ ।

सामुदायिक आइसोलेशन र होम आइसोलशनमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उनले बताए । “सङ्क्रमितको अवस्था सामान्य रहे पनि समस्या आयो भने यहाँ उपचार गर्न सक्ने अवस्था रहेको छैन, हेलिकप्टर नै मगाउनुपर्ने हुन्छ, कहिलेकाहीँ हेलिकप्टर आउन ढिलो भएमा यहाँका मानिसको ज्यानसम्म जान सक्ने हुन्छ, यहाँको समस्या कहिले समाधान हुने खै रु”, उनले भने ।

उनका अनुसार मनाङमा हालसम्म दरबन्दीमा रहेका चिकित्सकसमेत रिक्त रहेको छ । मनाङ विकट क्षेत्र भएर पनि होला दरबन्दीकै चिकित्सकहरू आउनै नचाहेका कारण दरबन्दी पूर्ति हुने अवस्था नै नरहने उनी बताउँछन् । सम्बन्धित निकायमा जानकारी गराए पनि हालसम्म चिकित्सक आइनपुगेको उनको भनाइ छ ।

मनाङमा २० वटा अक्सिजन कन्सन्टे«टर मेसिन र ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर रहेको छ । हालसम्म ११ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । जिल्ला अस्पताल मनाङमा हाल आठ कन्सन्ट्रेटर र आठ ठूला तथा पाँच साना सिलिण्डर रहेको छ । अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था छ ।

चामे गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र दुई वटा सानो अक्सिजन सिलिण्डर रहेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा तीन अक्सिजन कन्सन्टे«टर र १३ वटा सानो सिलिण्डर रहेको छ । त्यहाँ नौ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको छ । नार्फु गाउँपालिकामा पाँच अक्सिजन कन्सन्टे«टर छन् । यस गाउँपालिकामा अक्सिजन सिलिण्डर भने छैन । नासो गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र एउटा सानो अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा बेसक्याम्पमा अक्सिजन राख्ने गरिएको छ । यहाँ हाइअल्टिच्युड हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायजसो यहाँका मानिसले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । जिल्ला अस्पताल मनाङमा सात, चामे गाउँपालिकामा १०, मनाङ ङिस्याङ गाउँपाकिलामा १३, नार्फु गाउँपालिकामा पाँच र नासो गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ ।

167 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal