लकडाउनमा साहित्यकार : शृंखला ३

2,938

“लकडाउनमा साहित्यकार” साहित्यकारहरूको साहित्यिक दिनचर्यासम्बन्धी विशेष शृंखला हो । यसको हरेक शृंखलामा हामी तीनजना चर्चित लेखकहरूको दिनचर्या पढ्नेछौँ,। कोभिडको यो त्रासमय अवस्थालाई सहज, क्रियाशील, साहित्यिक बनाउन र युवा पुस्तामा पठन संस्कृति प्रवर्धन हेतु यो प्रस्तुतिले पक्कै पनि केही सकारात्मक सन्देश सञ्चार गर्नेमा हामी विश्वस्त छौँ ।

आजको शृंखलामा हामीसँग घनश्याम पथिक, शैलेन्द्र अधिकारी र शम्भु सुस्केरा हुनुहुन्छ ।

घनश्याम पथिक

घनश्याम पथिक एक चर्चित साहित्यकार हुन्  । उनका युनिका (उपन्यास-२०७२), सहर तिम्रो भए (गजल संग्रह-२०६५), भूल जिन्दगीको (गजल-२०६९), पहेँलो फूल र स्वप्ना (कविता संग्रह-२०६६) र अहिले भर्खरै आएको ‘छुई’ प्रकाशित छन्। उनि पहिले नै उपन्यास युनिका मार्फत सबैको प्रिय हुन सफल भएको र अहिले  छुई पनि युवाहरुले मन पराएका छन्

“सामाजिक सञ्जाल नहेरूँ भन्दा नि हुन्न, समाचार पनि हेर्ने / सुन्ने बानी छ । दुवैले मुटु निचोरेर ल्याउँछन् । आँखा रसाउँछन्। यो भयावह स्थितिमा सिर्जनातिर त सोच्न पनि मन लाग्दैन । ज्यान बाच्यो भने पछि लेखौँला भन्ने सोचाई आउँछ । समय नै खै के आयो – आयो । जोगिएर बस्न गाह्रो छ । कुन बेला कोरोनाले भेट्छ भन्ने त्राहिमाम मात्र छ । होसियारी अपनाउनमा नै दिन कटिरहेका छन् ।

यस्तै दिनचर्याको बीच – बीचमा छुई पढ्ने पाठकहरू जोडिनुहुन्छ । केहिछिनलाई जोडिने पाठक र म नै कोरोनालाई बिर्सेर छुईको गफमा हराउँछौ । छुईको प्रतिक्रियाले मन पुलकित हुन्छ । फेरि अर्को पाठकले “कोरोनाले गर्दा छुई  लिन पाएको छैन केही उपाय छ भने भन्दिनु न” भन्नुहुन्छ । मन न्यास्रिन्छ । उपाय के नै छ र ? कोरोना जाओस् है ल भन्छु ।

बेला – बेला त लाग्छ , धन्य छुई विमोचन गरिएछ । नत्र गत वर्ष झैँ हुने रहेछ । गत वर्ष वैशाखमा विमोचन गर्ने योजना थियो । यहि कोरोनाले धकेलेको थियो । यसपालि पनि कसो कसो कोरोना भन्दा अलिक छिटो भइएछ । नत्र ….. मन गज्जबले बुझ्छ ।

घरमा साना बच्चा हुँदा समय गएको पत्तै नहुदोरहेछ । छोरो छ साढे तीन वर्षको । उसका अन्जान चकचक नियालेर, मालुम प्रश्नका उत्तर दिँदादिँदै दिन त ढलिहाल्छ । फेरि मेरो पेशा प्राध्यापन हो । केही समय अनलाइन कक्षाका लागि पनि छुट्याउनु छँदै छ ।

यस्तै छ मेरो कोरोना कहर भाग – दुई ।

सम्पूर्ण महानुभावमा एउटै अनुरोध छ – सबै प्रावधान अपनाएर कोरोना लाग्नबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ । सावधानी अपनाउँदा अपनाउँदै कोरोनाले भेट्यो भने आत्मबल उच्च राखेर उपचार गरौँ । पक्का पनि कोरोना  पराजित हुने छ । सबैभन्दा ठूलो कुरो बाच्नु / बचाउनु हो । त्यसपछि त बाँकी कुरा छदैछ ।”

शैलेन्द्र अधिकारी

लेखक शैलेन्द्र अधिकारीको प्रकाशित पुस्तकहरूमा दिन रोएपछि (गजल सङ्ग्रह -2064),हिउँ माथिको जून (गजल सङ्ग्रह – 2066), ‘उलार’ उपन्यासको शैलीवैज्ञानिक अध्ययन (समालोचना – 2071) र भर्खरै मात्र आएको ‘निर्वेद’ (उपन्यास -2076) पर्दछन् जुन अहिले एकदम नै चर्चामा छ । अधिकारी लेखनसँगै पेशाले शिक्षक पनि हुन् । उनी नेपाली साहित्य पढाउँछन्

“लकडाउन हुनुभन्दा केही समय पहिले परिवारहरू धादिङ घर गए । अहिले काठमाडौँमा म एक्लै छु । बिहान र दिउँसो हरेक दिन केही समय कलेजका विद्यार्थीहरूलाई अनलाइन पढाउँछु । केही समय त्यसैमा अल्मलिन्छु । अनलाइन शिक्षण आफ्ना लागि पनि नयाँनयाँ नै भएकाले यस्तो शिक्षण सिकाइ कसरी प्रभावकारी हुन्छ भनेर सामाजिक सञ्जालतिर पनि खोज्ने गर्छु । बाहिरतिर के गर्दा रहेछन्, थाहा पाउँन युट्युबतिर कहिलेकाहीँ समय दिन्छु । केही समय धादिङ गएका छोरछोरी र परिवारसँग गफगाफ गर्छु ।

२०७६ सालमा निर्वेद उपन्यास बजारमा आएपछि, नयाँ कथा सङ्ग्रहमा काम गरिरहेको थिएँ । तर बिहान दिउँसो कलेज पढाउनुपर्ने हुँदा सोचेजस्तो समय दिन सकिरहेको थिइनँ । अहिले कथा सङ्ग्रहमा काम गर्ने अवसर मिलेको छ भन्दा पनि हुन्छ । अबको केही समय आफ्ना तर्फबाट अब आउने कथा सङ्ग्रहलाई अन्तिम रूप दिने कार्यमा नै अलि बढी समय खर्च गर्दैछु । यो कोरोना महामारी सकिएपछि नयाँ कथा सङ्ग्रहका साथ पाठकका माझमा आउने कुरा पनि  निवेदन गर्दछु । अलि अगाडि नै पूरा गर्छु भनेर जिम्मा लिएका केही मित्रहरूका कृतिको सम्पादन पनि यही बिचमा पूरा गर्दैछु ।

कि लेख्ने, कि पढ्ने, कि पढाउने यही तीन कुराको सेरोफेरोमा हालसम्म बित्यो । यो लकडाउनमा पनि म यही तिन कुराकै सेरोफेरोमा छु । तुलसी दिवसको ‘नेपाली लोककथा’, सौरभको ‘असहमति ३’ र रोशन थापा निरवको ‘कोष्ठकभित्र हाँसो’ किताब पढ्दैछु । कोरोनाको सङ्क्रमण र राजनीतिको सङ्क्रमण बुझ्न बेलाबेला सामाजिक सञ्जालतिर पनि अल्मलिन्छु ।”

शम्भु सुस्केरा

शम्भु सुस्केरा पेशाले प्रहरी हुन् तर उनी साहित्यसँग एकदम नै नजिक छन् उनलाई मान्छेहरूले प्रहरी भन्दा बढी साहित्यकार भनेर चिन्ने गर्छन् । सुस्केराका प्रकाशित कृतिहरूमा “शहीदकी आमा” र “सरोगेट लोग्ने” कथा सङ्ग्रह, प्रहरी जवानका लागि लोकसेवाको तयारी पुस्तक र “प्रहरी जवान गाइडलाइन” हुन् । प्रहरीले सञ्चालन गरेको रेडियोको साहित्यिक कार्यक्रमहरूमा उनको आवाज सुन्न पाइन्छ । युवा लेखकहरूलाई एकदम नै माया र प्रोत्साहन गर्ने उनको बानीले उनी सबैका प्रिय छन् ।

“०७७ को कोभिडले भन्दा ०७८ को कोभिडले सात्तो खाएको छ । रोग र भोकले जनजीवन तङ्ग्रिदै गर्दा । फेरि फर्किएर आयो त्यो । के पुगेन र आएको हो । स्वस्थानीका ब्राह्मणहरू लावण्य देशका राजा नवराजकहाँ फर्केर आए जस्तै आएको छ । कसलाई लैजान बिर्सिएर गएको थियो र यमराजको गाली खाएर फर्किएको हो ।

आएकोमा चिन्ता भन्दा पनि उसैलाई मद्दत गरेर हामीलाई निरिह अभिभावकका कारण पो डर छ मनमा ।

पोहोरको कोरोना सामना गर्दा म प्रहरी भएर बाँचेको थिएँ । परिवार र जागिर जिम्मेवारी गरी दोहोरो थियो जिम्मेवारी । अहिले एकल छ । परिवारको मात्रै छ चिन्ता ।

द्वन्दकालमाजागिर छाड्ने पारिवारिक दबाब भए पनि छोडिनँ । डरले छोड्यो भन्लान भन्ने पिरले । अहिले कोरोना सकिएपछि बिसाएको हुँ टेको । कोरोनाका डरले घरमै लुक्न बिसायो भन्लान् भन्ने पीर छ ।

कोरोनाको सामाजिक, मानसिक, आपराधिक र बाल मनिविज्ञान र बाल आत्म हत्याकाबारेमा केही लेखियो ०७७ मा ।

बाध्यकारी थियो लेखाइ । हरेक दिन ट्राफिक एफएममा पढिने समाचारले साह्रै मन दुखाएर लेखिएको थियो । लेखौँ लागेर होइन । लेख्न पाए केही सजगता बढाउन सकिन्थ्यो की भन्ने कर्तव्य बोधले लेखियो ।

वास्तवमा भन्ने हो भने साहित्य लेख्नै सकिएन । पढ्ने कुरा गर्दा पोहोरको मदन पुरस्कारवाला पनि पढि सकिएन आधैमा रोकियो ।

पढ्न छाडेर जीवनले गति लेला जस्तो लाग्दैन । तर गैह्र साहित्यले मन छुन थालेको छ । आफैले आफ्नो जीवनलाई काउन्सिलिङ गर्नुपर्ने अवस्था आएर पो हो की ? मोटिभेसनल खालका पुस्तकहरू पढ्ने रुची बढेको छ । बालबालिका सम्बन्धी पुस्तक पढ्ने बाध्यता थपिएको छ ।

हाँसो र आँसु मात्रैले सधैँ काम नदिने पो होकी ? जगदीस घिमिरेको अन्तर्मनको यात्राले जति अरू नेपाली साहित्यले प्रेरित गरेको छैन । स्वादका हिसाबले अरू धेरै राम्रा पुस्तक पढेँ । सायद बिपदकाबेला सान्त्वना र प्रेरणा दिने खालका पुस्तक साहित्य कम गैह्रसाहित्य बढी हुने होकी ? वा मैले अनुभव हासिल गर्न नसकेको हो की ।

जीवन र जगत, हाँसो र आँसु मात्रैको अध्ययनले बिपद वा बिचलनकाबेला आत्मबल दिन नसक्ने रहेछ जस्तो लागेको छ ।

बिपदका घडिमा कसरी पार लगाउने जिन्दगीलाई । यस्ता पुस्तक कुनै नेपाली लेखकले लेखिदिए ? आफैँले लेख्न पाए ? भन्ने लोभ छ ।

यस्ता पुस्तक दिन नसकेकाले पो डिजिटलले पुस्तकलाई धुलो चटाएको होला । यस्तै सोचमा समय बितेको छ ।

लेख्ने विषयलाई डायरीमा नोट गर्दै र नलेख्दै समय बितिरहेको छ । सहरिया, अस्तव्यस्त जीवन भोगिरहेको म र मेरो मनलाई कसरी स्थिर गराउने, सकारात्मक सोचको विकास कसरी गराउने, योग र ध्यानको शक्तिमा कसरी साक्षात्कार गराउने ? अवचेतन मनको शक्तिलाई कसरी उपयोग गर्ने यता पो जाँदो छ मन ।

बाह्र वर्ष अघि सुडान बस्दाको संस्मरण लेखिसकेको दुई वर्ष भयो समय र मन दुवै सकारात्मक नहुँदा थन्किएर बसेको छ । प्रकाशकले पनि भन्न थाले अब पुरानो हिसाब बिर्सिनुस् ।

मान्छेले पुस्तक किन्न र पढ्न छोडे, मोबाइल र ल्यापटपमा छन् सबैका आँखा । त्यहीँ छिरेर पो केही भन्ने हो की ? युट्युबमा पो लेखिनुपर्ने हो की आफूलाई ?

कलम र आवाज यता चल्न थालेको छ आजकाल । आवाजमा चेतना पढ्ने समय आयो भन्छन् मान्छे । त्यहाँ पनि समय लेख्न र बेच्न सकिएन भने के गर्ने होला ?

साहित्यका यिनै विषय मन्थनको पात्र बनेर समयको स्यानिटाइजर र मास्क जिन्दगी भोगिरहेको छ मेरो कलम । थाहा छैन कोरोना साहित्य लेख्न की मेट्न मद्दत गर्नेछ ।”

Facebook Comments Box