स्वास्थ्य सङ्कट होइन, यो राजनीतिक सङ्कटको चरम बेहाली हो : सङ्गीत सङ्गीत

76
१. हरेक दिन सयौँ मान्छेको ज्यान गइरहेको छ, हजारौँले सङ्क्रमणको प्रताडना झेलिरहेका छन् । तिनका निकटतमहरूले झेलेको यातनामय साँझ बिहानको के कुरा ? मृत्युले चारैतिरबाट लखेटिरहेको जस्तो भयावह समयले आम मान्छेलाई निरुपाय बनाइरहेको छ । एक सिलिन्डर अक्सिजन नपाएर मान्छे दिनदिनै मृत्युको मुखमा पुग्नु परेको छ ।
२. निषेधाज्ञा/लकडाउनको कारणले र बहानाले लाखौँ ज्यामीजनको रोजीरोटी खोसिएको छ । न काम छ, न ज्याला छ, न निकटमा देखिने गरी कुनै सकारात्मक निकास छ । स–स्याना उद्यमहरू र मसिना–मसिना उत्पादनहरूबाट परिवार र जीवनलाई टेको दिइरहेका हजारौँ गरिखानेहरूको दैनिकी ठन्डाराम पारिएको छ । तिनीहरू सहज जीवनमा फर्कने कहिले हो ? कसरी हो ?
३. भनिएको त छ– महामारीले ठुलो र स्यानो भन्दैन, धनी र गरिब छुटाउँदैन ! तर, बिमारले छोइसकेपछि उपचार पाउने कुरामा ठुलो मान्छे ठुलै छ, गरिबजनको बेहाल छ । सामान्य अक्सिजन पाउँदा, अस्पतालको ओछ्यान पाउँदा र डाक्टरको सेवा पाउँदा ज्यान जोगिन्छ । अस्पतालको सेवा वा राज्यसँगको सीधा पहुँच नहुनेका लागि अहिले ज्यान जाने कारण नै त्यही बनेको छ । आधारभूत स्वास्थ्य सेवा नागरिकको संवैधानिक अधिकार भनिएको छ तर व्यवहारमा यो संविधान कति बेकम्मा छ भन्ने दसी यही बेलाले पुनर्पुष्टि गरेको छ ।
४. नागरिकहरूले प्रश्न उठाउनु स्वाभाविक छ– यत्रो हाहाकार भइरहँदा पनि किन कुनै मन्त्री थला पर्दैन? किन कुनै उच्चपदस्थ सरकारी अधिकारीको ज्यान खेर गएको सुनिँदैन ? किन सांसदहरू सङ्क्रमित भएर पनि भोट हाल्न गइरहेका हुन्छन् ? किन अरबपति–खर्बपतिहरु आइसियुमा भर्ना भएको सुन्नु परिरहेको छैन ? किनभने उनीहरूका लागि आधारभूत स्वास्थ्य सेवा सधैँभरि पहुँचमा हुन्छ । उनीहरू बिरामीले लिइरहेको अक्सिजन पनि शक्तिले वा पैसाले खोसेर लिन सक्छन् । उनीहरू खाँचै परे विदेश पुगेर पनि उपचार गर्ने सामर्थ्य राख्छन् । यो राज्य नै आखिर उनीहरूद्वारा, उनीहरूकै लागि, उनीहरूले नै चलाउने मेलो बनेको छ ।
५. यो निषेधाज्ञा आम मान्छेका लागि मात्रै सिर्जिएको छ, यतिखेर । बेहाल ज्यामीजनको मात्रै छ, सङ्कट गरिखाने वर्गको लागि मात्रै छ । सरकार साँच्चै संवेदनशील हुँदो हो त बितेको एक वर्षमा कुर्ची जोगाउने एकसूत्रमा मात्रै सम्पूर्ण ध्यान लगाउने पक्कै थिएन । यस्तो सङ्कटका बेला सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक, अर्धसरकारी कर्मचारी जस्ता राज्यको वेतनमा पालिएको लाखौँको जनशक्तिलाई पूर्णतः स्वास्थ्य सङ्कटका खातिर परिचालित गर्न के ले रोकेको छ ? मन्त्री, सांसददेखि राज्यबाट सुविधा लिने सम्पूर्ण जनशक्तिको एक\दुई महिनाको ज्याला तुरुन्तै सङ्कटकालीन स्वास्थ्य सेवामा रकमान्तरण गर्न के ले रोक्छ ? बाटो, पुल, एयरपोर्ट, धरहरा.. जस्ता ठेक्कापट्टामा हालेको बजेट यसपालिलाई तुरुन्तै आकस्मिक अस्पताल निर्माणतिर सार्दा के फरक पर्छ ?
६. अर्बौँको कर छली गरिरहन सक्ने, खर्बौँको उद्योग–व्यापार गरेर ‘देश बनाइरहने’, करोडौँ कमिसनको मोलमोलाइमा मुछिइरहने, राजनीतिक शक्तिको फाइदा लिइरहने यो मुलुकका पुँजीपति (राजनीतिकर्मी?) हरूलाई  यस्तै बेलामा आफ्नो ढुकुटीको झिनो अंशमात्रै जनस्वास्थ्यमा लगाउन के ले छेकिरहेको छ ? अनि, सारा मान्छेलाई आतङ्कित पारेर यही बेला ‘रेभिन्यू’ बढाउने दाउ हेरिरहेका निजी अस्पतालहरूलाई नियमन गर्न के ले रोकिरहेको छ ?
७. यो स्वास्थ्य सङ्कट होइन, यो राजनीतिक सङ्कटको चरम बेहाली हो ! यो बेहाल निम्त्याउने आजको सरकार र यसको नेतृत्व गर्नेहरू अपराधीहरू हुन् । आमजनको दिनदिनै ज्यान गइरहेको बेला आफ्नै सांसद वा मन्त्री पद सुरक्षा गर्न खोज्नेहरू पनि अपराधकै हिस्सेदार हुन् । यो राजनीतिक सङ्कटको दैलो यसै उघ्रिँदैन– बोलौँ, चिच्याऊँ, हातले हुन्छ या लातले यसका चुकुलहरू फुकालौँ ! देशको नेतृत्व गरिरहेका छौँ भन्नेहरूले निकास दिँदैनन् भने जोखिमहरू झेलेर पनि निस्कौँ ! बोलौँ !
Facebook Comments Box