समयको सम्वोधन

कवि : डा. नवराज लम्साल

96
१.
मर्नेमा पनि मर्नुका किसिम छन् मर्ने कि वा मारिने
जित्नेले इतिहास जित्छ जिउँदो जित्ने कि वा हारिने
के को फुर्फुर यो छलेर दुनियाँ को छल्छ आफ्नो मन
आफ्नै हात चिरेर लाश गणना गर्ने कि बाँच्ने भन !
२.
यो धर्ती यसको महानियम यो फर्कन्न मर्ने कुनै
डालीबाट झरेर फूल भुइँको फर्कन्न झर्ने कुनै
मर्ने अन्तिम सत्य हो तर बुझे बाँच्ने कला साँच्नु छ
बाँच्नैको पनि अर्थ अर्थ छ यहाँ बाँचेजसै बाँच्नु छ ।
३.
आधा मृत्यु उनेर दिव्य दिलमा आधा त्यसै नेत्रमा
राखेझैँ यमराजको खटनको झुत्रे चिना पत्रमा
के सारो मदमत्त मस्त हिउँदे बाच्छा कुदेझैँ कुदी
राख्छौ हे कुन ठाउँमा भन अझै मान्छे हुने त्यो गुदी ।
४.
यो यस्तो दिन हो जहाँ दिन सबै देखिन्न सग्लो कहीँ
यो यस्तो पिरलो पहाड यसको देखिन्न अग्लो कहीँ
घेरा दुष्मनको यहीँ छ तर खै देखिन्न आँखैनिर
सम्मो फाँट छ फाँटमै छ गहिरो खाल्डो तथा जन्जिर ।
५.
सारा काम बितेर गो समयको जाओस् जहाँ जान्छ त्यो
वर्षौँको सपना बगे नयनमा छोड्नुस् कहाँ लान्छ त्यो
लानेकै लय छुट्छ चुँड्छ जुइनो को बाँच्छ के बाँच्छ र
यो धर्ती पनि मर्छ मर्नुछ सबै हाँसेर बाचौँ तर ।
६.
आफ्नो जीवन यो परन्तु यसकै लम्वाइ को जान्दछ
धागो चट्ट चुँडेर जान्छ कहिले चङ्गा कहाँ पुग्दछ
हो यस्तो दिन दिव्य दैन्यदिनको के अर्थ हो जान्नु छ
बाँचेझैँ यदि बाँच्नु हाँस्नु छ भने मान्ने कुरा मान्नु छ ।
७.
धर्तीको उपहास गर्दिन भनौँ धर्ती र पानी पुजौँ
यो भूगोल खगोल बीच रहने यो शून्य के हो बुझौँ
खानेका पनि खानपान विधि छन् संस्कार शोभा चिनौँ
हिँड्दामा भुइँको बुझेर महिमा जे हिँड्नु आफैँ हिँडौँ ।
Facebook Comments Box