ओली-नेपाल सकारात्मक, राजीनामा अहिले टर्‍यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।

पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा चपली हाइटस्थित विवादास्पद व्यवसायी रामेश्वर थापाको घरमा भएको अध्यक्ष ओली र नेपालबीच वार्ता सहमतितिर उन्मुख भएको हो ।

बैठकबाट बाहिरने क्रममा माधव नेपालले २ जेठ २०७५ मा फर्किनेबारेमा अध्यक्ष ओली सकारात्मक देखिएको बताए । र, २० जना सांसदले दिने भनिएको राजीनामा दुई-चार दिनलाई रोकिएको उनले बताए ।

नेता नेपालका अनुसार नेपाल पक्षले राखेका ६ बुँदे प्रस्ताव र २ जेठ ०७५ मा फर्किनेबारेमा चर्चा भएको र फेरि वार्तामा बस्ने सहमति भएको छ ।  नेपाल पक्षले २ जेठ ०७५ अनुसारको पार्टी कमिटी बनाउनुपर्ने अडान लिइरहेको छ । त्यही अडानकाबीच नेपाल पक्षले समानान्तर गतिविधि गरेको थियो ।

यसअघि बिहीबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।