टम रबिन्सनहरू मरिरहन्छन्

सुदर्शन पौडेल

147
टम रबिन्सन हार्पर लिको पुलिट्जर पुरस्कार बिजेता उपन्यास ‘टु किल अ मकिङ्गबर्ड’को अश्वेत पात्र हो । एक कारुणिक पात्र । उसलाई श्वेत केटी बलात्कार गरेको आरोपमा पक्राउ गरिन्छ । १९३० को समयमा अमेरिकाको अलाबामामा यो घटना घट्छ । अलाबामा अमेरिकाको दक्षिणी भागमा पर्छ । त्यतिबेला अमेरिकी दक्षिण रङ्गभेदी श्वेतहरुको बाहुल्याता भएको ठाँउ थियो । रङ्गभेदले ग्रस्त समाजमा टम रबिन्सनले न्याय पाउने आशा थिएन । त्यहाँ प्रमाणभन्दा प्रचलन बलियो थियो । अदालत पस्नु पहिलेनै उसको फैसला भैसकेको थियो । उ मर्ने निश्चित थियो ।
‘टु किल अ मकिङ्गबर्ड’ जिन लुइस फिन्च नामक महिलाले आफ्नो बाल्याकालको स्मरणमा गरेको बेलिबिस्तार हो । उपन्यसको वर्णन जिनले गरेपनि उपन्यासको कथा उनका पिता एटिकस फिन्चको वरिपरि घुमेको छ । एटिकस जिन र जिमका पिता हुन्छन् । पेसाले वकिल । खेती-किसानी गर्ने निम्न वर्गिय बस्ने मेकम्ब काउन्टीमा उनी प्रतिष्ठित मानिन्छन् । मानिसहरु सम्मानकासाथ उनको नाम पुकार्छन् । एटिकस कुशल वकिलका साथै असल पिता पनि हुन्छन् । उनकी श्रीमतीको देहवशान भैसकेको हुन्छ । उनले जिन र जिमलाई आवस्यक माया र नैतिकता दिएर हुर्काएका हुन्छन् ।
उनी मेकम्ब काउन्टीका गरिब बासिन्दाको मुद्दा पैसा नहुँदापनि लडिदिन्छन् । उनीहरुले अन्नबालीले ऋण चुक्ता गर्दा एटिकस उनीहरु लज्जित नहुन भन्ने कुरामा सतर्क हुन्छन् । रङ्भेदले गाँजिएको समाजमा उनी घरकी सहयोगी क्याल्पर्नीयालाई फरक व्यावहरार गर्दैनन् । एक सामान्य मानिसले अर्को मानिसलाई गर्ने व्यवहार सबैलाई गर्छन् । यसकारण जब उनलाई टम रबिन्सनको मुद्दा लड्ने प्रस्ताव आउँछ उनले स्विकार्छन् । दोषी मान्छेले पनि कानुनको बाटोबाट सजाय पाउनुपर्छ । उनले यो विश्वास गर्छन् । यसकारण हार्ने निश्चित भएको मुद्दा उनी टम रबिन्सनको लागी लड्छन् ।
अदालतमा मुद्दाको सुनुवाइ हुनुभन्दा एक दिन अघि एउटा घटना घट्छ । टमलाई भोलि हुने सुनुवाइको लागि मेकम्ब काउन्टीको पुलिस स्टेसनमा ल्याइन्छ । ३० को दशकमा हुल दंगा गरेर अश्वेतहरुलाई मारिनु दुर्लभ कुरा थिएन । टम काउन्टीमा आएको थाहा पाएपछी काउन्टीका बासिन्दाहरु बन्दुक बोकेर पुलिस स्टेसन पुग्छन् । ति मानिसहरुलाई थेग्न पुलिसको बलले पुग्दैन भन्ने कुरा एटिकसलाई थाह छ । टमको मृत्यु लघभग-लगभग निश्चित थियो । तैपनि एटिकस क्याल्पर्नियालाई घर जिम्मा लगाएर टमको सुरक्षाको लागि पुलिस चाैकी कुर्न जान्छन् । तातो रगत र चिसो बन्दुक बोकेर आएको भिडलाई शान्त पार्न खोज्छन् ।
उनीहरु सोध्छन्, “त्यो भित्र छ मिस्टर फिन्च ?”
एटिकस शान्त स्वरमा बोल्छन्, “छ । उ सुतिरहेकोछ । उसलाइ नब्युझाउ ।”
“तपाइलाई थाह छ हामी के चहान्छाैँ । त्यो ढोकाबाट पर सर्नुस मिस्टर फिन्च ।”
त्यसपछी घट्ने केही प्रसंगहरुका कारण त्यसरात टम मर्दैन । उ भोलिपल्ट मर्छ । पहिले अदालतमा जान्छ । वादी र प्रतिवादीले प्रमाणहरु देखाउछन् । केरकार हुन्छ । एटिकसले पुर्वाग्राही जुरीहरुलाई न्यायसंगत फैसला गर्न याचना गर्छन् । र अन्त्यमा हुन्छ त्यही जुन पुर्वनिर्धारित थियो । टम दोषी ठहर्याइन्छ । नगरेको अपराधमा दोषी ठहर्याइएपछि बिचलित उ भाग्ने प्रयास गर्छ र यही शिलशिलामा प्रहरीको गोलिले मारिन्छ । यसरी एक निर्दोष मानिस व्यवस्थाबाट अवहेलित हुन्छ र अन्तत मृत्युको मुखमा पुग्छ । भाग्न नखोजेको भए पनि टम मारिन्थ्यो । केही दिन पछि नै सही ।
मलाई लामो समयसम्म त्यो अदालती प्रकृयाले बिझाएको थियो । न्यायको नै उपहास हुने न्यायलयबाट किन गुज्रनु ? किन वकालत गर्नु कसैको पक्षमा जसले न्याय पाउने सम्भावनानै छैन ? सबैकुरा स्पष्ट हुँदापनि किन टमले मर्नुपर्यो ?
मैले वर्तमानको सहजताबाट यो सब नियालिरहेकोछु भन्ने स्विकार्न नसक्दासम्म एउटा आक्रोस मभित्र रहिरह्यो । टम रबिन्सनको नियतीले एटिकसको प्रयत्नलाई नजरअन्दाज गर्न लगाइरह्यो । यतिबेला आएर बल्ल मैले बुझेँ, कुनै अश्वेतलाई न्याय दिलाउन श्वेत वकिलले मुद्दा लिनु सामान्य कुरा थिएन । उपन्यासमा दर्शाइएको घटना नियम नभएर अपवाद थियो । यो निर्णय लिन एटिकसलाई पनि सजिलो थिएन ।
यसलाई उत्तरआधुनिकताको चश्माले हेरेर ह्वाइट सेभियर कम्प्लेक्सको ट्याग भिराइदिन सकिन्छ तर टम रोबिन्सनको आवाज खोसिएको बेला कुनै श्वेतले उसको पक्षमा वकालत गर्नुपनि कम सहासिक कार्य हैन ।
यो सत्य हो टम रबिन्सन मर्यो । टमको फैसलामा एटिकसको वकालत हुनु वा नहुनुले केही फरक पार्दैनथ्यो तर त्यो समयबाट आजसम्म आइपुग्दा कति अश्वेतहरु गलत अभियोगमा थुनिनबाट बँचे त्यसमा एटिकसको वकालतले ठूलो फरक पारेको छ । एटिकसहरु जन्मिएका कारण थुप्रै टमहरुले मर्नुपरेकोछैन ।
व्यक्तिगतताको दृष्टिकोणबाट हरेक मृत्युले समान वास्ता राख्छन् । कोरोना महामारीमा लाखाैँ मर्दैमा आफ्नो बाबु गुमाएकी छोरीको पिडा घट्दैन । टमको मृत्युसंग उस्को परिवार जोडिन्छ । उसका सपनाहरु जोडिन्छन् । तर टम आफ्नो गल्तीका कारण मरेको हैन जसरी महामारीमा मर्ने सबै रोगको कारणले मरेकाहैनन् । उनीहरुको मृत्यु व्यवस्थाको कमजोरीका कारण भएको हो ।
हामीहरु व्यवस्थाबाट बिचलित भएर समर्पण गर्न सक्छाैँ । प्रकृयाको विश्वास गरेर नजर मोड्न सक्छाैँ । अथवा एटिकसलेजस्तै हार्ने थाहा हुदाहुँदै पनि आवाज उठाउन सक्छाैँ । जुनसुकै गलत कुराको बिरुद्द बोल्दा यो सम्भावना रहन्छ कि हामी हार्न सक्छाैँ । हामीहरुले बचाउन खोजेको टम रबिन्सन मर्न सक्छ । तर हाम्रो आवाज एउटा टमको लागि हैन तमाम टम रबिन्सनहरुको लागि उठ्नुपर्छ जो यदी यस्तै रहिरह्यो भने अन्यायपुर्ण मृत्यु भोगिरहनेछन् । हार्ने जान्दा जान्दै एटिकसहरु बोलेनन् भने टम रबिन्सनहरु मरिरहन्छन् ।
अन्त्यमाः भारतिय पत्रकार रविश कुमारले रोमन म्यागस्यासे पुरस्कार प्राप्त गर्दाको यो वक्तव्य;
“ सबै युद्दहरु जित्नको लागि लडिदैनन् । केही युद्दहरु विश्वलाई यो थाह दिन पनि लडिन्छन् कि कोही लडिरहेको थियो ।”