कविता : प्रश्न तिमीलाई!

२०७८ बैशाख ३०, बिहीबार १०:२६
प्रश्न तिमीलाई!
भित्रै बस्छौ वा स्वतन्त्रताको लागि युद्ध गर्छौ?
तिमी नारी हुनु तिम्रो दुर्भाग्य हो
प्राकृतिक कुरा भन्नू त अपवाद मात्र हो
तिम्रो शारीरिक बनोटलाई प्राकृतिक घोषणा गर्नु अघि
त्यसलाई उपभोगको रुपमा ग्रहण गर्न
मोलतोल गरिसकेका हुन्, तिम्रो सत्ताधारी समाजले।
तिम्रा त्यी दुई अङ्गले
तिमीलाई अरु भन्दा फरक आकृति दिन्छ
त्यी अङ्ग मातृत्व निर्माण गर्न
वा मानव उजागर गर्न हैन,
पुरुषले दिएको असली स्थानको
नामकरण गर्न स्थापित भएका हुन्
उदाहरणको लागि:-
बलात्कार, हत्या, महिला हिंसा, एसिड आक्रमण…
अनि अरु? अरु गएर आमालाई सोध एकपटक।
तिमी स्वयंमको पनि ४५% दोष छ तिमी लुटिनुमा
थाहा छ त्यो के हो?
तिमीले आफ्नो सर्वस्व जीवन
आफुले आफुलाई महिला बनाउनमा सकाएकी छ्यौ
तिमीलाई आफू सबैभन्दा बढी आकर्षित देखिनु छ
अरे! आफ्नो यथार्थलाई किन स्विकार्दिनौ
तिम्रो स्तन अनि यौनले, तिमी पुरुषको नजरमा परिसक्यौ
फेरि कति सजिन चाहन्छ्यौ?
आफ्नो अस्तित्वको बारम्बार बलिदिन
त्यो श्रीङ्ग्रारले पुजा नगर न आफुलाई
तिम्रो त्यो हर्हराउदो यौवनपुष्पित देहले
तिमीलाई अवस्य लुट्छ आज नभए भोलि,
भोलि नभए त्यसपछि को आउने दिनहरूमा….
अहँ! अझ बढी कमजोर तिमी यहाँ भएकी हैनौ
त्यहाँ भएकी हौ जहाँ उसले तिम्रो शरीर स्पर्श गर्दा
तिमीले बिद्रोह गरिनौ, बरु उसलाई शरीर सुम्पिन राजी भयौ
आफ्नो खुनलाई समेत,
क्षणिक यौन तृप्तताले तहसनहस पार्ने
यो समाजमा, म घर बाहिर मात्र हैन
घर भित्रै असुरक्षित छु महोदय!
अनि तपाई भन्नू हुन्छ महिलाले घर बाहिर कदम नराख्नु
यहाँ स्वतन्त्रताको लागि एकपन्ना कागजमा
दिनुपर्ने हस्ताक्षरको लागि समेत
मैले हरेकसँग मेरो यौवनको सम्झौता राख्नुपर्छ
कार्यालय देखि न्यायलयसम्म!
अनि भन्नुस् कहाँ छ स्वतन्त्रता?
कयौं शताब्दी अघि राणा कालदेखि नै
नारी माथी शोषण गरिदै आइएको हो
तिम्रो समाज त्यसैलाई बढावा दिदै अघि बढ्यो
जब पनि पुरुष र महिलाको उत्पति भयो
तब देखि पुरुषहरुले महिलालाई
दासत्वको दर्जा दिई शाषण गर्न थालेका हुन्,
यहीँ यथार्थ हो कि वर्षौ… अघिको शताब्दी पनि
नारीहरू शोषित थिए
आज एक्काइसौं शताब्दीमा पनि
नारीहरू शोषित नै छन्
उनको नाम फेरिएको हो, उ माथि गर्ने दुर्व्यवहार हैन।
हिजो आइमाईको नामले शोषण गरियो
आज महिला अनि नारीको नामले।
अन्ततः आखिर मेरो शरीर यहीँ दुई अङ्ग न रहेछन्
म शोषित हुनुको कारण भने
किन म मेरो स्तन अनि यौन यी दुई अङ्ग छुट्याएर
स्वतन्त्रले हिड्न सक्दिन र? किन?
ए! किनकि यो संसारको विनाश हुन्छ?
त्यसो भए पहिले संसार निर्मातालाई सुरक्षित राख
अनि संसार बनाउने सपना सजाउ।
यदि यहाँ बाच्नु छ भने,
कि घर अनि समाजबाट शोषित हुँदै बस
नत्र यो समाजको कुरुपतालाई हटाउन युद्ध गर
स्वतन्त्रताको लागि आवाज उठाउन अघि बढ
आज तिमीले रोकेनौ भने
भोलि तिम्रो आउँदै गरेको पुस्ता
फेरि पनि तिमी जस्तै शोषणमा पर्नेछ
यदि त्यसो भयो भने चाहिँ अनि भन्न मिल्छ…..
तिम्रो साच्चिकै अस्तित्व छैन!
103 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal