ओली सरकारलाई सहयोग गर्नु अहिलेको आवश्यकता : महन्त ठाकुर

जनता समाजावादी पार्टीका अध्यक्ष महन्त ठाकुरले ओली सरकारलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् ।

सोमबार  बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका १५ जनाले सरकारको पक्षमा विश्वासको मत नदिएपछि मध्यराति विज्ञप्ति जारी गरेर उनले जसपा सत्ता प्राप्तिको लागि भन्दा पनि एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तो अवस्थामा मुद्दाबाट विचलित भइ  सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने जस्ता कार्य जसपा नेपालको उदेश्य विपरित रहेको भन्दै उनले उपेन्द्र यादव र बाबुराम भट्टराईहरुको कदम मधेश आन्दोलनको मर्म र भावना विपरित बताए ।

यस्ता कार्यले अस्थिरता हुने र एजेन्डाको सम्बोधन अनिश्चिततातर्फ धकेलिने उल्लेख गरेका छन् ।  उनले जसपा नेपाल मधेसी, आदिवासी,जनजाती, थारु, दलित,महिला मुस्लिम लगायतका सीमान्तकृत समुदायको मुद्दामा संघर्षरत रहने बताए ।