ओलीलाई विश्वासको मत दिनु उचित थिएन : माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नहुने भएकाले सोमबारको बैठकमा अनुपस्थित भएको प्रष्टिकरण दिएका छन् ।

उनले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले पार्टीमा मात्र होइन राज्य सञ्चालनमा समेत अनेकांैं स्वेच्छाचारी र अनियमित कार्य गर्नुभएको छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन, संवैधानिक परिषद्मा मनपरी, कानूनी शासनको उपहास, भ्रष्टाचारीहरुलाई संरक्षण जस्ता उहाका क्रियाकलापहरु छताछुल्ल भइसकेका छन् । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला जनताको स्वास्थ्य सुरक्षाका लागि काम गर्नुपर्ने बेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टचार गर्नेहरुलाई प्रश्रय दिनुका साथै राष्ट्रलाई अन्योलग्रस्त तुल्याउने र विभाजित गर्ने काम प्रधानमन्त्रीबाट भइरहेको छ । प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेपछि पनि प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्णयको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने लोकतन्त्रको न्यूनतम मर्यादा र नैतिकता नदेखाई देश र दुनियाँका सामु नेकपा (एमाले) को प्रतिष्ठामा आँच पु¥याउने काम गर्नुभयो । गत हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी ओली एक दिन पनि उपस्थित नभई र त्यसलाई कुनै काम नदिई अन्त्य गरियो । तर नियमित अधिवेशनमा लिनुपर्ने विश्वासको मत आफैले अधिवेशन बोलाई लिने गलत बाटोमा प्रधानमन्त्री केपी ओली अग्रसर हुनुभयो । यसरी उहाँले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका काम–कार्वाई तीब्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहनु भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरु गर्दै राज्यलाई नै कमजोर तुल्याइरहनु भएको छ । प्रदेश सरकारहरुलाई पनि सत्ता संघर्षतर्फ धकेल्दै अस्तव्यस्त बनाउनेतर्फ उहाँको संलग्नता रहेको छ । यसको ज्वलन्त उदाहरणका रुपमा गण्डकी र लुम्बिनी प्रदेशमा संविधान र लोकतन्त्रको मर्म तथा मान्यता विपरीत भएका कार्यहरुलाई लिन सकिन्छ ।

पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकार्वाइका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो । उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं ।