टर्‍यो बहुमतको सरकार बन्ने सम्भावना

२०७८ बैशाख २७, सोमबार १२:०८

माधव नेपाल पक्षको पछिल्लो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनलगत्तै बहुमतको सरकार बन्ने सम्भावना तत्काललाई टरेको छ।

 

अब बहुमतको सरकार बनाउन दलहरूलाई १३६ जना सांसद आवश्यक पर्नेछ। संसदमा अहिले २७१ सांसद संख्या कायम छ।

संसदको चौथो ठूलो दल जसपाभित्र कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने विषयमा मतभेद छ। जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतत्वको पूर्व समाजवादी पार्टी पक्ष कांग्रेस माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा छ भने  पूर्वराजपा पक्ष नयाँ सरकार बनाउन नहुने, केपी ओलीकै नेतृत्वमा निर्वाचनमा जानु पर्ने पक्षमा छ। जसपा एक नहुनेबित्तिकै तीन दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना रहँदैन। संसदका कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुखबाहेक) र जसपाका ३२ (पूर्वसमाजवादीका १६ र पूर्वराजपाका १६) सांसद छन्।

माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिएपछि कांग्रेस, माओवादी र  जसपामा बाबुराम र उपेन्द्रको समूह मिलेर सरकार बनाउने तयारी गरेका थिए। नेपाल पक्षका २० जनाले राजीनामा दिएको भए संसदमा २५१ सांसद कायम रहन्थे र सरकार बनाउन १२६ सांसद भए पुग्ने थियो।

अब फेरि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बन्न कि त माधव नेपाल पक्षले राजीनामा दिनु पर्‍यो वा प्रधानमन्त्री ओलीले उनीहरूलाई एमाले संसदीय दलको ह्वीप उल्लंघन गरेको सजायस्वरूप सांसद पद खोस्नु पर्‍यो।

एमालेको ह्वीप उल्लंघन गरेर आफूलाई विश्वासको मत नदिएबापत् प्रधानमन्त्री ओलीले सिद्धान्तत:  नेपाल पक्ष सांसदलाई कारबाही गर्न सक्छ। उनले कारबाहीअगाडि बढाए उनीहरूको सांसद पद खारेज हुन्छ।

प्रधानमन्त्री ओलीले नेपाल पक्षका  सांसदहरूलाई तत्काल कारबाही गर्ने सम्भावना छैन। उनले कारबाही गरे भने वैकल्पिक सरकार बन्ने अवस्था सिर्जना हुन्छ। नेपाल पक्षले पनि तत्काल राजीनामा दिने छैन। अब केही दिन ओली र नेपाल पक्षबीच फेरि छलफल र वार्ता चल्नेछ। प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै सँगै बसेर छलफल गर्न नेपाल पक्षलाई आह्वान गरेका छन्।

साभार: सेतोपटी

96 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal