SEE लगायत तीन घन्टे परीक्षा खारेज गरौँ

अभिषेक घिमिरे

137
१. अति संवेदनशील प्राविधिक विषयका विशेषज्ञता मापन गर्ने परीक्षा बाहेक अन्य कुनै पनि औपचारिक परीक्षाको तुक छैन । परीक्षा सीप होइन। परीक्षाले सिकाइ सुनिश्चित गर्दैन ।
२. तीन घन्टे परीक्षा सबैभन्दा अवैज्ञानिक, अव्यवहारिक र अनुत्पादक हो । हाम्रो थोत्रो माइण्डसेटले कुरा नबुझ्दा लाखौँ विद्यार्थी प्रमाणपत्र नामक कागजको खोष्टोका लागि दिन रात अनुत्पादक मिहिनेत गर्दैछन् । बजारमा बेरोजगारको संख्या बढाउने बाहेक यस्ता परीक्षाको कुनै अर्थ छैन ।
३. शिक्षक इमान्दार बनौँ । विद्यालय इमान्दार बनौँ । परीक्षाको नतिजालाई निजी स्कुलले ब्यापार गर्ने दाउ नबनाऔँ । विद्यार्थीले वर्षभरि सिकेको कुरालाई सुधारोन्मुख र वैज्ञानिक निरन्तर मुल्यांकन प्रणाली अबलम्बन गरेर अंक दिने प्राणाली विकास गरौँ ।
४. एकैपटक कक्षा १२ को परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डले लिने गरी नीति निर्माण गरौँ । यो भन्दाअगाडि विद्यालयले आन्तरिक मुल्यांकन गरे पुग्छ ।
५. “परीक्षा लिएन भने विद्यार्थीले पढ्न छोड्छन्, पढाइको स्तर खस्किन्छ“ – ठीक भन्नुभयो । पढ्न छोड्छन्, सिक्न सुरु गर्छन् । बीसौं बर्षसम्म विद्यार्थीलाई रुद्री पाठ रटाएर अहिले के पायौं ? कतै नबिक्ने कागजका खोस्टा बाहेक !! यस्ता सुगा रटाइ परीक्षा लिनु भन्दा नलिएको जाती !!!
६. “विदेशको नक्कल गरेर हुन्छ? हाम्रो देशका शिक्षक त्यो सबै गर्न सक्षम छैनन् ।“ यस्ता लाचार कुरा नगरौं । सक्दैनन् भने राज्यले सिकाउनुपर्छ । सिकाउँदा पनि सक्दैनन् भने नयाँ सोच भएका शिक्षक भर्ना गर्नुपर्छ । विद्यालय जागिर खाने ठाउँ होइन, देशको भविष्य निर्माण गर्ने स्थल हो ।
७. कक्षा दशको परीक्षा एसईई होइन । विद्यालय संरचना कक्षा १२ सम्म कायम गर्ने अनि दशको परीक्षालाई एसईई मान्ने? मन्त्रालयमा बस्ने जिम्मेवार अधिकारीहरुलाई यस्तो कुरा देख्दा हाँस उठ्दैन ?
८.सामान्य ढंगले समाधान हुने विषयलाई शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालयले किन हाउगुजी बनाएको? विद्यार्थीको मनोविज्ञानसंग किन खेलेको? किन उनीहरुलाई आततायी बनाएको? समयमा निर्णय गर्नु पर्दैन ? विचल्ली पार्ने ? जहिल्यै भुमरीमा मात्र राख्ने ? बिरालोले मुसा खेलाएजस्तो खेलाउने ? एक वर्ष पो आकष्मिक पर्यो –जहिल्यै अनिर्णयको बन्दी बनेर बस्ने? नेतृत्व कुहिरोको काग बन्ने जहिले पनि ?
९. केही अन्तराष्ट्रिय मान्यता, अभ्यास, अनुसन्धान, प्रयोग, हाम्रो मौलिक परिवेश, हाम्रा स्रोत र साधन, पहुँच लगायतका विषय समेटेर केही दिन देशभरिका विज्ञ बसेर घोरिए हुँदैन ? केही नजानेका त कोही छैनौ हामी ! जहिल्यै परम्परागत ढंगले सोचेर पनि हुन्छ? संसारले फड्को मारेर कहाँ पुगिसक्यो– हामी जहिल्यै १८औं शताव्दीको चिन्तन मात्र बोकेर बस्ने ? नवीनतम प्रयोग गर्न किन डराएको हामी ?
१०. संसारमा मानिस उसको सीप, क्षमता, दक्षता, सोच, विचार, दृष्टिकोण, आचरण, नेतृत्व क्षमता आदिले सफल हुन्छ । परीक्षामा पाएको अंकले एक पटक जागिर दिलाउला तर उचाइ चुम्न अरु नै कुरा आवश्यक पर्छ, जुन कुरा हामीले विद्यालयमा कहिल्यै सिकाएनौँ । स्मरण रहोस; टेस्ला, गुगल जस्ता विश्व प्रशिद्ध कम्पनीले अहिले कर्मचारी लिंदा उसले परीक्षामा प्राप्त गरेको अंक होइन, उसको क्षमता हेरेर लिन्छन् ।
परीक्षा होइन– सिकाइमा ध्यान दिनुपर्छ ! तीन घन्टे परीक्षाले धेरै काविल र सक्षम विद्यार्थीको मनोविज्ञानको हत्या गरेको छ । यो हत्यारा परीक्षाप्रणाली खारेज गरौँ । परम्परागत र श्राद्धमा बिरालो बाँध्ने थोत्रो माइण्डसेट परित्याग गरौँ !!
Facebook Comments Box