लकडाउनमा साहित्यकार : शृंखला २

3,094

“लकडाउनमा साहित्यकार” साहित्यकारहरूको साहित्यिक दिनचर्यासम्बन्धी विशेष शृंखला हो । यसको हरेक शृंखलामा हामी तीनजना चर्चित लेखकहरूको दिनचर्या पढ्नेछौँ,। कोभिडको यो त्रासमय अवस्थालाई सहज, क्रियाशील, साहित्यिक बनाउन र युवा पुस्तामा पठन संस्कृति प्रवर्धन हेतु यो प्रस्तुतिले पक्कै पनि केही सकारात्मक सन्देश सञ्चार गर्नेमा हामी विश्वस्त छौँ ।

आजको शृंखलामा हामीसँग महेश कार्की क्षितिज, असिम सागर र मनोज भण्डारी हुनुहुन्छ ।

महेश कार्की क्षितिज

महेश कार्की क्षितिज लामो समयदेखि समालोचना तथा कविताको क्षेत्रमा कलम चलाउँदै आइरहेका छन् । युवा कविहरूमा एकदमै लोकप्रिय कवि कार्की क्षितिजको कविता सङ्ग्रह ‘एक्लो महारथी’ भर्खरै बजारमा आएको छ र लोकप्रिय पनि हुँदै छ । एक दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा लागेका कार्की क्षितिजको दुईवटा समालोचनाका पुस्तकहरू पनि प्रकाशन भइसकेका छन् ।

साहित्यका हरेक क्षेत्रलाई उत्तिकै सम्मान गर्ने साहित्यप्रेमी क्षितिजले विभिन्न माध्यमबाट आफ्नो कविता समीक्षा समालोचनाहरू पस्कँदै आइरहेका छन् ।

“बाहिर निस्कने अवस्था छैन । पोहोरभन्दा पनि अहिले भयावह छ । परिस्थिति जटिल बन्दा साना बच्चाहरू भएका मान्छेलाई साह्रै नै गाह्रो हुने रहेछ । बाइस महिनाको बच्चासँगै घरमै बसेर सुनौलो भोलिको प्रतीक्षा गरिरहेको छु । यो समयमा कलेजको अनलाइन कक्षा भइरहेको छ । अनलाइन कक्षामा विद्यार्थीहरूसँग भर्चुअल भेट हुँदा समय बितेको पत्तै नहुँदोरहेछ ।

मेरो भखैरै एक्लो महारथी कवितासङ्ग्रह आएको थियो । यही किताबको केही ठाउँमा कार्यक्रम गर्ने योजना थियो तर त्यो रोकियो । खासमा अब परिस्थिति सहज हुन्छ भनेर मेरो दोस्रो साहित्यिक कृति आख्यानलाई रिराइट गर्न सुरू गरेको थिएँ तर परिस्थिति प्रतिकूल भयो । आख्यानको ड्राफ्ट अब केही समय चलाउँदिनँ । तीन वटा अरूका किताबहरूको सम्पादन गरिरहेको छु । यी किताबहरू सायद चाँडै बजारमा आउने छन् ।
परिस्थिति प्रतिकूल भएकोले पोहोर नै सक्नुपर्ने पिएचडी झन् झन् पर सरिरहेको छ । परिस्थिति सहज भयो भने यो वर्षको अन्त्यतिर यो बाँकी रहेको पिएचडीको काम सकाएर आख्यानमा काम गर्छु । तर, आख्यानको किताब आउन भने दुई वर्ष त पक्कै लाग्छ ।”

असिम सागर

असीम सागर नेपाली कवितामा सुपरिचित नाम हो । उनको यसअघि ‘जून पोखिएको रात’ गजल सङ्ग्रह (सन् २००८), ‘अस्तित्वका आवाजहरू’ गजल सङ्ग्रह (सन् २००९) र एकल गजल एल्बम ‘स्वर्गको सपना’ (सन् २००९) मा प्रकाशित छ । असीम सागर मूलतः गजल लेखनबाट बिस्तारै कविता लेखनतिर तानिएका हुन् ।
उनले राष्ट्रिय कविता प्रतियोगिता पुरस्कार, जोगमाया चापागाईँ गजल पुरस्कार, खडानन्द मनमाया स्मृति पुरस्कार, भावतरङ्ग साहित्य सम्मान , मानशोभा प्रतिभा पुरस्कार लगायतका एक दर्जन भन्दा बढी पुरस्कार पाएका छन् ।

उनको नयाँ कविता सङ्ग्रह “क” अहले सबैको प्रिय बन्दै गएको देख्न सकिन्छ ।

“व्यापारबाट कोठा पस्ने बित्तिकै  टिभी अन गरेँ । भोलिबाट लकडाउन शुरु हुने समाचारले अघिल्लो लकडाउनले जन्माएका समस्याहरू मानसपटलमा घुम्न थाल्यो । के, कसरी भन्ने प्रश्नले आफै नर्भस् भएँ । यद्यपि त्यो समयको अधिकांश समय भने मेरो कविता सङ्ग्रह “क” को तयारीमा बितेको थियो ।

६ महिनाको घर भाडा अघिल्लो लकडाउनमा बाँकी रहेको ऋणले पनि हुनसक्छ, यसपालि भने शुरुका दिन केही बढी तनावपूर्ण रह्यो । पछि बिस्तारै यो पीडा मेरो मात्रै होइन संसारको हो, मरेर लानु के छ र, बाँचुञ्जेल खान पुगे भयो भन्ने मानसिकता आफैँले निर्माण गरेँ । जसले मलाई मनोबल उच्च बनाएर खुशीले बाँच्न प्रेरणा मिल्यो । तर पनि एकातिर सङ्क्रमित भइने डर, अर्कोतिर पुलिसले लखेट्ने र टोल छरछिमेकले पनि नदिने इत्यादि सहेर व्यापारमै बिहानको समय बित्छ । तथापि सटर हुनेलाई व्यापार गर्न दिने र फुटपाथलाई नदिने महानगरको नियम भने पटक्कै चित्त बुझेको छैन । राज्य सरकारले खाद्य सामग्रीको लागि बिहान ९ बजेसम्म खुल्ला राख्न दिने भनेतापनि पुलिसले भने फुटपाथमा तरकारी बेच्न दिएको छैन ।

पुलिसको आँखा छल्दै बेच्दै बिहानको समय व्यापारमा बित्छ । त्यसपछि केही समय डेरा फर्केर सरसफाइ र पकाउनु खानुमा बित्छ । थकानले केही समय निद्रा लाग्छ । उठ्दा केही लाइभ गोष्ठीहरू शुरु भएका हुन्छन् , सुन्यो हेर्‍यो साँझ पर्छ । यिनै दिनचर्या बिच निरन्तर कविता लेख्छु पढ्छु र फेसबुक हेर्छु । यसरी कविता लेख्न पाउँदा सबै दुख बिर्सिन्छु, गौरवान्वित हुन्छु , संसार जितेको भान हुन्छ । तिनै कविताले आज मलाई असीम भनेर चिनाएको छ । अग्रज, अनुज , समकालीन मित्र र प्रिय पाठकहरूको प्रशस्त माया पाएको छु । यही नै एउटा लेखकको सम्पत्ति हो भन्ने लाग्छ ।

खाजा नास्ता कटौती गरेर किनेका थुप्रै किताबहरू पढ्न बाँकी छन् । कुनबेला कहिले पढ्ने कुनै ठोस योजना छैन । पढेको बेला दोहोराएर पढ्ने बानी छ । सोच्छु, मात्र दिनको २ घण्टा पढेर यतिविध्न किताब कहिले पढिसक्ने होला ? यदि व्यापार छाडेर घरमै बस्ने भइएछ भने यसरी थाँती रहेका किताब पढ्ने योजनामा छु । किनकि किताबले नै मेरो जीवनको एक पाटो उज्यालो बनेको छ ।”

मनोज भण्डारी

छन्दोबद्ध कविता र गजलबाट साहित्यको लेखन सुरु गरेका मनोज भण्डारी गद्य साहित्यमा पनि उत्तिकै दखल राख्छन् । कविता,गजल र कथा निबन्धादि गद्य साहित्यको त्रिवेणीका रूपमा देवघाटबाट उदाएका कवि भण्डारी प्राय समयानुकूल घटना र परिवेशबारे कलम चलाउन रुचि राख्छन् ।

उनको लेखन र मिठो छन्द कविता वाचन शैलीले उनलाई युवाहरू माझ एकदम नै लोकप्रिय बनायो । अझ भनौँ, छन्द कविता बिर्सँदै गएका पुस्तामा छन्दप्रतिको मोह उनको कविताहरूले नै जीवित राख्न सफल भएको छ । उनको कविता सङ्ग्रह “ईश्वरलाई चिठी” एकदम नै लोकप्रिय छ ।

“यो लकडाउनमा कसैले के गरिरहेको छस् भनेर सोधेमा मेरो एउटै उत्तर हो – प्रेम ।

आफूलाई प्रेम नगर्नेले अरूलाई प्रेम गर्न सक्दैन । एकान्तले आफूलाई प्रेम गर्न सिकाउने रहेछ । मेरा सपनाका पखेटा सुम्सुम्याउँछु । मेरा पनि छिद्रहरू  छन् , म समुद्रमा हेलिँदा दुःख दिन सक्ने छिद्रहरू । सबै टाल्न खोज्दैछु । आफूलाई आफैंले  आफूले चाहेजसरी “मोटिभेट” गर्ने कला सिक्दैछु ।

पोहोरको लकडाउनमा म आमाकै काखमा थिएँ । यसपालि देशबाहिर छु । आफू  विद्यार्थी मान्छे , पढ्ने लेख्ने काम त हो । त्यही चल्दैछ । 

भारतमा कोरोना फैँलदो छ । बाटोमा , बजारमा अझै पनि कोरोना छैन । टिभीमा भने मृत्यु नै मृत्यु छ । समाचारका कुनै पनि च्यानल/पेजसित जोडिएको छैन । भयमुक्त छु । सानन्द छु ।

ठ्याक्कै यतिबेला हाम्रा पौरस्त्य दर्शनका विचारलाई विदेशी भाषामा कसरी लेखेका रहेछन् भन्ने अध्ययन गरिरहेको छु । मुख्यतः यही पढ्दैछु । फुर्सदमा सङ्गीतलाई अनुभूत गर्दैछु ।”