महामारी नियन्त्रण कसरी गर्ने ? राजनीतिक दल र जनप्रतिनिधिलाई सुझाव

अभिषेक घिमिरे

128

राजनीतिक दल र जनप्रतिनिधिलाई महामारी नियन्त्रण गर्ने बारे सुझाव :

१. आफ्नो दलीय स्वार्थभन्दा माथि उठ्नुहोस् ।

२. मानवता तपाईँको पार्टीभन्दा ठुलो हो । राजनीतिक दलको प्रमुख अभिष्ठ भनेको नै जनताको सेवा हो भन्ने बुझ्नुहोस् ।

३. जनताको सेवा गर्ने यो सबै भन्दा ठुलो अवसर हो । प्राणको भिक्षा मागेर छ्ट्पटाइरहेका बिरामीका लागि तपाईंहरुले गरेको सेवा ईश्वरीय सेवा हुनेछ ।

४. जनताले अहिले राजनीतिक खेलाडी होइन, अभिभावक खोजेका छन् । सास र गाँसको जोहो गर्ने÷गरिदिने अभिभावक बन्ने प्रयत्न गर्नुहोस् ।

५. धेरै पटक जनतालाई ढाँट्नुभयो । यस पटक मनदेखि सेवा गर्नुहोस् । चुनाव केन्द्रित नबन्नुहोस् । सेवा गरेबापत मैले जस पाउँछु कि पाउँदिन भनेर नसोच्नुहोस् । मात्र सेवाका लागि सेवा गर्नुहोस् । मानवताका लागि काम गर्नुहोस् । निस्वार्थ भएर काम गर्नुहोस् । तपाईँले नगरे अरू कसैले गर्दैन भन्ने ठानेर काम गर्नुहोस् ।

अब_के_गर्ने ?

१. तपाईँको आफ्नो निर्वाचन क्षेत्रमा कति जनता छन्, कस्ता जनता छन्, कसको आर्थिक हैसियत कस्तो छ, कति ओटा अस्पताल छन्, अस्पतालको क्षमता कस्तो छ, क्षमता वृद्धि गर्ने सम्भावना कस्तो छ? सबै पत्ता लगाउनुहोस् । तपाईं वडा सदस्य हो वा संघीय संसद् आफ्नो तह÷क्षमता अनुसार योजना बनाउनुहोस् ।

२. यो काम गर्न कसलाई जिम्मेवारी दिने, कसरी दिने, कहिले सम्म गरिसक्ने? अरू कसको सहयता लिन सकिन्छ सबै पत्ता लगाउनुहोस् र अविलम्ब जिम्मेवारी दिनुहोस् ।

३. अहिले सम्म भएको सङ्क्रमितको अवस्था कस्तो छ ? कसको अवस्था कस्तो छ ? तत्काल सहयोग गर्नुपर्ने? राहत दिनु पर्नेको सङ्ख्या कति छन्, को को हुन्, कहाँ छन्, कस्तो अवस्थामा छन् ? त्यसको ट्रेसिङ गर्नुहोस् ।

४. तत्कालीन अवस्था कस्तो छ, यही क्रम अनुसार भोलि हुन सक्ने अवस्था आङ्कलन गर्नुहोस् । सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे कहाँ र कसरी व्यवस्थापन गर्ने? आइसोलेसन र क्वारेण्टिनको व्यवस्था कहाँ र कसरी गर्ने ? त्यसको योजना वडास्तरमा नै गर्नुहोस् । हरेक वडामा यसको समुचित व्यवस्थापनको योजना बन्यो भने जिल्ला अस्पतालमा बिरामीको अनियन्त्रित भीड हुँदैन ।

५. अहिले भइरहेको सङ्क्रमणको कारण के हो ? कसरी समुदायमा सङ्क्रमण फैलियो? यसको कारण पत्ता लगाउनुहोस् । वडा देखि जिल्ला, प्रदेश सबैसँग समन्वय गरेर नियन्त्रण गर्ने योजना बनाउनुहोस् । जनतासँग सहकार्य गरेर यसको नियन्त्रणका लागि सहयोग माग्नुहोस् । जागरण फैलाउनुहोस् । जनचेतना भएन भने तपाईँले चाहेर पनि केही हुँदैन ।

 

रणनीति_कसरी_तय_गर्ने ?

 

१. सबै सम्बन्धित निकाय, सरोकारवालासँग सल्लाह गर्नुहोस् । भौतिकरूपमा अहिले सम्भव छैन । आफुले नेतृत्व लिनुहोस् र टेलिफोन मार्फत कुराकानी गर्नुहोस् ।

२. तत्काल गर्न सकिने काम के हुन्? तत्कालीन आवश्यकता के हो? हालका समाधान नगरी नहुने समस्याहरू के के हुन् ? संवेदनशीलताका आधारमा समस्याको प्राथमिकीकरण गर्नुहोस् । यस्ता समस्या कम्तीमा एक हप्ता वा १५ दिनभित्र समाधान गरिसक्नुपर्ने गरी कार्य योजना बनाउनुहोस ।

३. १ महिनाभित्र गरिसक्नु पर्ने काम के के हुन् ? ती कामको योजना बनाउनुहोस् ।

४. ३ महिनाभित्र गरिसक्ने कामको योजना बनाउनुहोस् । यी सबै योजना बनाउँदा समस्याको प्राथमिकीकरण समस्याको संवेदनशीलताका आधारमा गर्नुहोला ।

५. महामारी ३ महिनाभन्दा बढी लम्बिए वा लम्बिन सक्ने आङ्कलन भए ६ महिनाभित्र गरिसकिने योजना बनाउनुहोस् ।

६. महामारी सकिए पछि जनता आर्थिक, मानसिक र सामाजिकरुपले विक्षिप्त भएका हुनेछन् । धेरैको उद्यम र रोजगारी गुमेको हुनेछ । उनीहरूको व्यवस्थापनका लागि पनि तपाईंहरुले आपतकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने हुन्छ ।

७. योजना बनाउँदा दुई ओटा कुरालाई ध्यान दिनुहोस्;

क.  सङ्क्रमितको लागि स्वास्थ्य उपचार (आफैँ उपचार गर्न सक्ने, नसक्ने सबैको सूचि निर्माण गर्नुहोस् ।)

ख.  विपन्न परिवारका लागि राहत

(यी दुवै पाटोलाई माथि छलफल गरिएअनुसार प्रथामिकीकरण गरेर योजना बनाउनुहोस् ।)

८. सबै राजनीतिक दल, आस्था भएका व्यक्तिलाई समेट्नुहोस् । सामाजिक अभियन्ता, शिक्षक, विपक्षी दल, पत्रकार, आलोचक, शुभचिन्तक सबैको सहयोग र सल्लाह लिनुहोस् ।

 

स्रोत_व्यवस्थापन_कसरी_गर्ने ?

(नोट : स्रोत भनेको पैसा मात्र होइन। जनस्तरबाट प्राप्त हुने अन्य सहयोग पनि स्रोत हो।)

१.  आफैंसँग भएको स्रोत के हो, कति छ खोजी गर्नुहोस् । याद गर्नुहोस्, पैसा मात्र सबै थोक होइन । तपाईं हाम्रै अगाडि खेर गएका धेरै सामाग्रीलाई सफा गरेर, रिसाइकल गरेर पुनः प्रयोगयोग्य बनाउन सकिन्छ ।

२. नागरिक समाज, एनजिओ, आइएनजीओ, सामाजिक अभियन्ता, पत्रकार, शिक्षक मार्फत के सहयोग लिन सकिन्छ त्यसको सूचि निर्माण गर्नुहोस् ।

३. स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारसँग के के कुरामा समन्वय वा सहयोग माग्न सकिन्छ त्यसको सूचि निर्माण गर्नुहोस् ।

४. अन्तर्राष्ट्रिय निकाय, विदेशमा बसेका नेपाली लगायतसँग के सहयोग लिन सकिन्छ, त्यसको सूचि निर्माण गर्नुहोस् ।

५. ढुक्क हुनुहोस्, तपाईँले चालेको अभियान स्वार्थ केन्द्रित छैन भने सिङ्गो संसार तपाईँको साथमा हुनेछ । नेतृत्व लिन तयार रहनुहोस् !! फेरि पनि याद गर्नुहोस्, तपाईँले नगरे अरू कसैले गर्दैन !!!

 

Facebook Comments Box