कविता : गल्ली

कवि : जनक कार्की

103
गल्ली
==========
मानव समृद्धिको
ठूला-ठूलाभवनको पर्खालभित्र
शहरीकरणको नजरबन्दमा निस्सासिएर बाँचिरहेको गल्ली
एउटा अप्रकाशित कथाभित्र जीवन खोजिरहेको छ ।
सार्वजनिक चोकको ठीक पछाडिपट्टि
गल्लीको ठेगानासम्म पुग्दैनन् हुलाकीहरू
यो गल्लीभित्र
लावारिस प्रमाणहरू अस्तव्यस्त भएर फिजाइएका छन्
गुप्तचर अनविज्ञ बनिदिएजस्तो।
गल्लीको कुनामा
एउटा गाँठो पारेको ताजा वीर्यसहितको अस्थायी साधन छ
अङ्कुरित हुन नपाएको आधुनिक गणतन्त्रजस्तो
यो गल्लीका भित्ताहरू रङ्गाइएका छन्
गोलीको कुचीमा लालीगुराँसको रातो रङ निचोरेर।
त्रिभुज आकारको कुनामा
बलात्कारको हेडलाइनमाथि कुनै पोर्नस्टारको स्क्र्याच सिडीले च्यापिरहेको
एउटा अखबार छ
पिसाब गर्न मनाही छ को सूचनामा
पिसाबकै एसिडले ‘मनाही छ’ शब्दको रङ उडिसकेको छ।
गल्लीभित्रै छ देशको मानचित्र
दुइतिरबाट धमिराले चपाएर छोडेको ।
भेटिकन सिटीबाट आएको मनि अर्डरको अर्धकट्टी सुतिरहेको छ।
अस्पष्ट देखिने अशोक स्तम्भको चिन्ह अङ्कित खामको एक टुक्रालाई
फिरफिर फिरफिर हावाले हल्लाइरहेको छ।
यो गल्ली
प्रतिष्ठित सहरभित्र
एउटा अञ्जान शरणार्थीको परिचयपत्र झुण्डाएर बाँचिरहेको छ।
गल्लीको खबर लेख्ने
अखबारमा मसीको अभाव छ
गल्लीको फोटो खिच्ने क्यामरामा
मेमोरी फुल छ।
वर्तमानको चश्माले नदेखेको यो गल्ली
सायद शताब्दीपछि पहिचानमा आउला।
गल्लीमा आउलान् इतिहासविद्
घोषणा गर्लान् नयाँ रहस्यमयी इतिहासको
पुरातत्वविद्ले उत्खनन गर्लान् नयाँ एन्टिक वस्तुको
धेरै संभावना छन् ।
एउटा डरलाग्दो सम्भावनापूर्व सचेत रहौँ
र, चिनौँ
स्वतन्त्रता र सार्वभौमसत्ताका दुस्मनहरूलाई
यो गल्ली कुनै
छिमेकीको घरको कम्पाउन्डभित्र नपारियोस् ।
Facebook Comments Box