एक मूर्तिभञ्जकको ‘अस्वीकृत’ सिर्जनायात्रा

   महेश पौड्याल

यस आलेखमा म पुस्कर लोहनीको कुनै पुस्तक विशेषमा के छ भनेर लेख्न खोजिरहेको छुइनँ । त्यो पाठकको स्वतन्त्र विश्लेषणको विषय हो । म पुस्कर लोहनीको सम्पूर्ण कथाकारिताको सैद्धान्तिक र संरचनागत पक्षमा आफूलाई सीमित राख्न चाहान्छु ।

केही वर्ष अघिको कुरो हो, एउटा कार्यक्रममा पुष्कर लोहनीलाई प्रमुख अतिथिको रूपमा बोलाउने चर्चा हुँदा मेरा एक मित्रले भने, “विचार पु¥यायनु पर्छ है । ती मान्छे त पागल छन्, जेमा पनि यौन देख्छन्, जे पनि बोल्दिन्छन् ।” अन्ततः उनलाई बोलाइएन ।

केहीले मलाई भने, “पुष्कर लोहनीका बारेमा नलेख्नुस् ।” यो चाहिँ मेरो निजी निर्णयको विषय पनि हुने हुनाले मैले टेरिनँ । लेखेँ । पुस्तकै आयोः पुष्कर लोहनीः सिजो, सेक्स एण्ड बियोन्ड

पुष्कर लोहनीका बारेमा उनको बारेमा सुनेका, तर नबुझेका मानिसहरूको आम अभिव्यक्ति सधैँ सशङ्कित नै रहने गर्दछ । उनको चिन्तन र लेखनको धरातलीय यथर्थलाई गहन अध्ययन गर्दा उनी पागल नै सिद्ध हुन्छन्, यसमा शङका गर्ने ठाउँ छैन । तर उनको पागलपन आम जनअपेक्षाको दायराभन्दा माथिको चिन्तन र लेखनबाट विकासित भएको, र अमेरिकी कवि इमिली डिकिन्सनले भनेजस्तो “डभाइनेष्ट सेन्स” अर्थाथ दैविक बोधबाट विकसित पागलपन हो । त्यो पागलपन यस कारणले पनि हो कि उनको लेखन औसत लेखनभन्दा फरक छ, र औसतभन्दा फरक कुनै पनि व्यक्तिको सकारात्मक व्याख्या गर्न नसक्ने समाजले त्यस व्यक्तिलाई पागल नै भनेको छ । निकै पाका र नाम चलेका एकजना कविले हालसालै भने, “जसलाई पनि गाली गर्छ पुष्कर लोहनी ।” यो पनि एक प्रतिनिधि प्रतिक्रिया हो । हुन पनि हो, सार्वजनिक कार्यक्रममा पुष्कर लोहनीले धेरैलाई गाली गरेको सुनिन्छ । शब्द चयन र स्वभावमा उनले लोक मर्यादाको पालन गरे–नगरेका विषयमा बहस गर्न सकिन्छ र निश्चित रुपमा लोकमान्य मर्यादाको कसी उनले पनि मान्नुपर्छ । तर दशकौंदेखि साहित्यको दुन्दुभी बजाउने तर लेखकलाई विभिन्न कोटरीमा कित्ताबन्दी गर्ने प्रवृत्तिको शिकार र साक्षी दुवै भएका, अनेकानेक रहस्यमयी पोलका दस्मदीद गवाह, र एक निर्भीक स्वभावका लोहनी नेपाली साहित्यका एक इमान्दार प्रहरी हुन्, जसले कुनै डर, लोभ, प्रलोभन या अनुग्रहको पर्वाह नगरी यथार्थको बाटो अवलम्बन गरे । नगण्य पुरस्कार र सम्मान, थोरैसँग उठबस्, र एकल रचनाका ग्रन्थको रुपमा अत्यन्तै थोरै पुस्कतको प्रकाशनले उनी कीनाराकृत भएको यथार्थ बोल्छ । स्वतन्त्र र एकल लेखनका कृतिमा चहकदार मइन्टोल र पिलपिले लालटिन् एकमात्र पुस्तक देखापर्छ, यद्यपि आकाश विभाजित छ, पीपलबोट र केराको थामजस्ता केही कृति सहलेनमा प्रकाशित छन् । तर कृतिको यस न्यूनतालाई पुष्कर लोहनीले कहिल्यै उनको साहित्यकारिताको दुरुहताको रुपमा परिभाषित हुनु दिएनन्, कारण उनी पत्रपत्रिका छाई नै रहे, र बाटोमा तघारो तेछ्र्याउनहरूलाई र समग्र साहित्यलाई छद्म बौद्धिकता र पूर्वाग्रही ठेकेदारीको बाली ठान्नेहरूलाई गाली गरी नै रहे । यदि धेरैलाई उनको गालीमाथि गुनासो छ भने तिनीहरू कुनै न कुनै रुपमा त्यस प्रवृत्तिका दोषी हुन् । नत्र, नखाएको विष लाग्नुपर्ने कुनै कारण हुँदैन, वौद्धिक स्पद्र्धामा ।

विभिन्न कुतर्कहरूका कारण एक टापु बन्न पुगेका एकल यात्री हुन् पुष्कर लोहनी । तरै पनि साहित्यको कुनै पनि इमान्दार इतिहासकार या समालोचकले कविता या कथाविधामा यौन साहित्यको एक उन्नायकको रुपमा उनको उपेक्षा गर्ने साहस त के कल्पना पनि गर्न सक्दैन ।

पुस्कर लोहनी एक मुर्तिभञ्जक हुन्, एक बिद्रोही हुन् । उनको बिद्रोह कुनै निश्चित समयसिमाभित्र बाँधिएको एक राजनैतिक विद्रोहभन्दा नितान्त फरक छ । यो मानसिकताको बिद्रोह हो, एक वैचारिक म्युटिनी हो । उनी समाजको अग्रगतिलाई शदियौंदेखि कुण्ठित पारिरहने जडसूत्रवादी सोचका बिरुद्ध आधा शताब्दीदेखि सतत विद्रोही गरिरहेका छन् । यौन र यसको वरिपरिका यथार्थ, जुन सबै वयस्कहरूको सपना–विपनाको एक नैसर्गिक आयाम हो, उनको लेखनीको अन्तर्वस्तु हो । अरुले बिरलै बटुलेको साहस उनीसँग छ, जसको ल्याकतको आकलन उनका कथाहरूमा सहजै गर्न सकिन्छ । यौन उनको कुण्ठा होइन; यो समाजको यथार्थ हो, जसको कालो र गोरो दुवै स्वरुपको इमान्दार चित्रण उनको कथाका पात्रहरूले गरिरहेका हुन्छन् । यस अर्थमा पुस्कर लोहनी मानवीय मनोविज्ञानका एक वाचाल अध्येता हुन् ।

पुष्कर लोहनीको बारेमा केही सकारात्मक लेख्नु या भन्नुलाई नेपाली सामालोचनाको कित्तामा एउटा जोखिम मानिँदोरहेछ भन्ने कुराको अनुभुति मैले त्यो बेला गरेँ जब उनको सिजोको बारेमा मेरो किताब २०६७ मा प्रकाशित भयो । पढ्नेहरूले राम्रो भने, तर धेरैले यस प्रकारका “अल्झन” मा नलाग्ने सल्लाह पनि दिए । सल्लाह दिनेहरूमध्ये धेरैजसो पुस्कर लोहनीको बारेमा केही कुरा सुनेका, तर उनलाई गहन तरिकाले नबुझेका मानिसहरू हुनुपर्छ । लेखक र समालोचकहरूले प्रतिक्रियाहरूलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने संस्कारको विद्यार्थी भएका नाताले मैले पनि त्यसै गरेँ, तर पुस्कर लोहनीको लेखनका बारेमा बस्ुतगत टिप्पणी र आलोचना गर्न छोडिनँ, चाहे त्यो लेखनमा होस् या अन्य सञ्चार माध्यममा दिइएका अन्तरवार्ताहरूमा होस् । यसका पछाडि मैले बोध गरेको एउटै यथार्थ छ । सो के भने, कटु आलोचकहरूले पनि स्वीकार गर्नै पर्ने एउटा यथार्थ पुष्कर लोहनीको लेखनीमा छ, र त्यो हो आधा शताब्दी भन्दा पनि बढी समयदेखि निरन्तर एउटै विषयलाई लिएर उभिनु, र सधैँ त्यसै विषयका नवीन आयामहरूको उत्घाटन गरिरहनु — चाहे कवितामार्फत होस्, या चोका, ताङका, सिजो, हाइकु, या कथा मार्फत होस्, या फेरि प्रकाशन हुन नसेकेर उकुसमुकुस सन्दुकभित्र थन्किएका नाटक र उपन्यासहरूमार्फत होस् । कति धेरै कुरा भन्न सक्छन् पुष्कर लोहनी यौनका बारेमा — यो आश्चर्यको विषय हो ।

पुष्कर लोहनी साहित्यका माहाभारतमा अनेक शिखण्डीहरूले झुक्याएको एक योद्धाको नाम हो । यो नाम समाजको मूलप्रवाहको व्यतिरेकमा बग्ने एक विद्रोही तुफानको हो, जसले जढसूत्रवादका अनेकानेक मान्यतालाई ढालेको छ, र पटकपटक मूर्तिभञ्जन गरेको छ । यस साहित्यिक मूर्तिभञ्जनलाई निजी जीवनको आचरणसँग लगेर जोडनेहरूको जमातले पुष्कर लोहनीको साहित्यिक ल्याकतलाई प्रकर हुनबाट पटक पटक रोकेको यथार्थ धेरैलाई थाह छ । पुष्कर लोहनीबारे लेख्ने र अनुसन्धान गर्नेहरूलाई पुष्कर लोहनीको कोटरीका मानिन्छ, र उनी यौनबारे लेख्ने भएकै कारण त्यो कोटरीका मानिसहरूलाई विभिन्न दृष्टिले हेरिन्छ । यो एक साहित्यक अपराध हो र समालोचनाको परम्परमा एक कलङ्क पनि ।

पुष्कर लोहनीको साहित्यको विषय “यौन” र उनको निजी जीवन र आचरणमा कति फरक छ भन्ने कुरा उनलाई निकटबाट हेर्नेहरूलाई मात्रै थाह छ । टाढाबाट हेर्नेहरूले उनलाई त्यही रुपमा मात्रै हेर्छन, जुन रुपमा कुनै एक दैनिक पत्रिकाले २०६८ सालमा धेरै पृष्ठ बेच्ने प्रलोभनमा “पुरुष वेश्या” को संज्ञा दिने दुःसाहस ग¥यो । तिनीहरूले न त लोहनीले पटक पटक दिएका मौखिक र लिखित स्पष्टीकरणलाई पढे, न त लोहनीको सम्पूर्ण वाल्यकाल, यौवनावस्था या वर्तमान अवस्थाका साक्षी परिवारजन, मित्रहरू, बालसखाहरू, सहपाठीहरू या जनकारहरूलाई सोधे । उनीहरूले केवल एक स्याल हुइँया गरे, र सधैँ पुष्कर लोहनीलाई वस्तुगत र तटस्थ समालोचनाको दायराबाट बाहिर राखे । तैपनि पुष्कर लोहनीको कलम रोकिएन । उनी टैगोरको नारालाई सार्थक पार्दै हिँडिरहे, “तेरी आवाज पे कोही ना आए तो फिर चले अकेला रे ।”

पुष्कर लोहनीको लेखन तीन दृष्टिकोणले महत्वपूर्ण छ । पहिलो, उनको विषयको ऐक्य, दोस्रो अश्लील मानिएको विषयको चयन र तेस्रो विषयवस्तुको गहन ज्ञान । उनले १७ वर्षको उमेरमा पहिलोपल्ट यौन विषयमा कलम चलाए, र २०१७ मा, २२ वर्षको उमेरमा, र २०२० मा २५ वर्षको उमेमा इन्दु र रुपरेखा पत्रिकामा क्रमश “परिस्थिति” र “कौडी” शीर्षकका यौन कविता छपाए, जसमध्ये “कौडी” उनको साहित्यिक परिचयको कोशेढुङ्गो बन्न पुग्यो । एउटा अल्लारे युवकमा यौनको चासो, जिज्ञासा र कुण्ठा हुनु स्वभाविकै हो तर यौन मनोविज्ञानको समान्य विश्लेषणलाई पनि चुनौती दिँदै आज करीब ७४ वर्षको उमेरमा पनि उनी यौन विषयमै कलम चलाइरहेका छन् । आश्चर्यको कुरो यो छ, अरुहरूले सामान्यरुपमा ग्रहण गरेका दृश्य, विम्व र घटनाहरूको उनी यौनिक विश्लेषण गरिदिन्छन् र बडो सहजताका साथ सोको पुष्टि गरिदिन्छन् । यस विलक्षणतलाई कतिपयले कुण्ठित मानसिकताको पूर्वाग्रही विश्लेषण भनेको पनि मैले सुनेको छु, तर हरेक कुरालाई आफूले साधना गरेको मूलविषयको प्रवाहमा जोडनु सक्नु र तार्किकताका साथ सोलाई पुष्टि गर्न सक्नु पनि त एक अलौकिक प्रतिभा हो । उनलै आफ्नो यस प्रतिभाको यसरी विश्लेषण गरेका छन्, कुनै ठाउँमा, “आफैमा तृप्ति–अतृप्तिको कारण हल्लिँदै–हल्लिँदै, हाँस्दै तर जुरुक्कै सम्पूर्णतालाई उठाएर एकैपल्ट फ्याँकिदिने प्रबल जोस । सेलाउँछ, सल्किन्छ र अफैमा बलेर आफैले निभाउनुपर्ने ।”

तर दुर्भाग्य, धेरैजसो अवस्थामा पुष्कर लोहनी वस्तुगत विश्लेषणको भागी भन्दा पनि छुद्र र पूर्वाग्रही आलोचनाको पात्र नै बनेका छन् । फलस्वरुप लेखनको पाँच दशकमा साहित्यको मूल प्रवाहका नायक या ठेकेदारबाट पटक–पटक किनाराकृत भएका पनि छन् उनी । यसै कारणले हुनुपर्छ, तिनीहरूको सेन्सरमा परेर प्रकाशित हुनबाट बञ्चित उनका अनेकानेक रचना आज सन्दुकभित्र थन्किएका छन् । तर उनका प्रकाशित कृति हुन् या अप्रकाशित, तिनीहरूको केन्द्रीय भाव यौन नै हो । यसरी आधा शताब्दीसम्म निरन्तर एकै विषयमा अडिग उभिएर अफूलाई स्थापित गर्ने अर्को लेखक नेपाली साहित्यमा देखा परेको छैन । विश्वेश्वर प्रसाद कोइराला यौन, राजनीति, समाज, व्यक्ति र मानोवज्ञानका अन्य आयामहरूमा छरिएका लेखक हुन् । विश्वम्भर चञ्चलको यौन साहित्य उनको समस्त साहित्यक चिनारीको मूल परिचायक होइन । बरु मनोवैज्ञानिक र बालसाहित्यले उनलाई उचाई दिएको छ । सीता पाण्डे सादय समयको चक्रमा हराइन् । पछिल्लो समयका केही कथाकारहरूले यौन सहित्यलाई मौसमी फलजस्तो बनाएको देखिन्छ । तर बाह्रै मास निरन्तर फुलिरहने फूल हो पुष्कर लोहनी, जो सतत आफ्नो धर्ममा ध्यानमग्न छ, र मौसमको परिवर्तनबाट माथि छ ।

पुष्कर लोहनीको लेखनको दोस्रो सामथ्र्य हो अश्लील मानिएको विषयको चयन । यो हामी अनुमान गर्न सक्छौ, राणा शासनको क्रूर, भयावह र दमनकारी साशन व्यवस्थामा बालापन गुजारेका लोहनीले असामाजिक र अमान्य मानिएको यौन विषयलाई निर्भीकताका साथ लेख्दै जानु, त्यसपछिका पूरातनवादी सामाजिक व्यवस्थामा पनि समाज र सत्ताबाट अनुमोदिन हुन नस्कनु, तै पनि आफ्नो बाटोबाट बिल्कुल विचलिन नभई निरन्तर अगि बढ्नु र आजपर्यन्त यस प्रवाहलाई अक्षुण्ण राख्नु पुष्कर लोहनीको अभूतपूर्व प्रप्ति हो ।

धेरैले आश्चर्य प्रकट गरेका सुनेको छु, यस्तो विषय लेख्ने लेखकलाई उनकै परिवारले कसरी ग्रहण गर्दो हो? तर उनको परिवार उनले यौन साहित्यमा स्थापित गरेका सत्ताप्रति गौरववोध गर्दछ, र त्यस साहित्यको प्रवर्धनमा लागेको छ भन्ने कुराको साक्षी म आफैं छु । उनलाई अन्ततः स्वीकार गरिएको छ, कारण उनले उठाएको विषय वैश्विक हो, र भलै नेपालमा यहाँ अप्ठेरो मानिएको होस्, विश्व साहित्यले मानवीय यथार्थको रुपमा स्वीकार गरेको छ । यौनसँग गाँसिएको अश्लीलतााको तद्रुप प्रकटीकरणलाई मूल्यमा आधारित समाजमा अनुमोदन गर्न सकिन्न, तर साहित्यिक र आलङ्कारिक कलेवरमा त्यसको सुन्दर अभिव्यक्तिलाई रोक्न पनि सकिन्न । आखिर, भन्नु नभन्नु, बोल्नु नबोल्नु, लेख्नु नलेख्नु आआफ्नै कुरा हुन्, आआफ्नै रोजाइ हुन् तर यौन सबैको यथार्थ हो, सबैको चासो हो, सबैको दिनचर्या हो, सबैको मनस्थितिको एक महत्वपूर्ण घटक हो, र मानिसका दैनन्दिन गतिविधिको निर्धारक या निर्णायक पनि हो । यो नमान्नु सर्वथा आडम्बर हो । हो, सिद्ध पुरुष र सन्यासी अपवाद हुन सक्छन् । यस वैश्विक यथार्थका अनेकानेक पाटाको क्रमशः उद्घाटन गर्दै पुष्कर लोहनीले आफ्नो लेखनको सत्तालाई स्थापित गरेका छन् । उनको मान्यता छ, साहित्य “व्यक्तिप्रतिको धोकापूर्ण इमान्दारीको सत्य–असत्य, झूटमुट तथा पापी इच्छा र प्रयोगको अहममा लालायित मायाजाल हो । लेखन त्यसै मायाजाल फस्ने, फसाउने, उम्किेने र उम्काउने अनि खाडल पुर्ने खेल हो ।”

उनको तेस्रो सामथ्र्य हो विषयको गहिरो ज्ञान । जसरी यौन र लैङ्कि मनोविज्ञानमा आएका अध्ययनहरूले नयाँ आयाम जोडेका छन्, त्यसै गरी पुष्कर लोहनीको साहित्य क्रमशः परिवर्तनशील र विकासवादी देखिन्छ । उनीसँग पूर्व र पश्चिम दुवै भूगोलमा भएका यौनका शास्त्रीय पक्षको ज्ञान छ । यौनका पौराणिक सन्दर्भदेखि यसका शास्त्रीय व्याख्या या उपव्याख्याका जानकार त उनी हुँदै हुन्, यौन र प्रेमका आदि लेखकहरूबाट उनी प्ररित भएको यथार्थ उनको साहित्यमा धेरै ठाउँ प्रकट भएर आएको कुरा सबै पाठकका अगाडि विधितै छ । पश्चिममा सिगमण्ड फ्रायडको मनोविश्लेषणको सिद्धान्तको प्रभाव त धेरैमा देखिन्छ, तर लोहनीले कार्ल गुस्ताभ युङ्, जुलिया क्रिस्टिभा, अन्ना फ्रायड हुँदै लैङ्गिक आचरणलाई सामाजिक संरचना मान्ने भर्जिनिया वुल्फ, साइमण्ड दी बुआ, लुसी इरिगेरी, जुढिथ बटलर हुँदै पछिल्लो समयमा डेनिस अल्टमेन र जेफरी विक्सजस्ता समालोचकहरूको अध्ययनबाट समलिङगी र तेस्रो लिङ्गिीको विषयमा देखापरेका सैद्धान्तिक तर्कहरूको समेत अध्ययन गरेको पाइन्छ । वाल्ट ह्विटमेन, फ्लवभर्ट, ओस्कार वाइल्ड, डी.एच. लरेन्स, रोबर्ट लवेल र भ्लादिमीर नोबेकोभबाट प्रभावित भएको कुरा त उनी स्वयं स्वीकार्छन् । यसरी हेर्दा उनी सम्पूर्ण ज्ञान र सचेतताका साथ आफ्नो साहित्यिक रथ हाँकिरहेका छन् भन्ने कुरा स्वतः सिद्ध छ ।

जहाँसम्म पुष्कर लोहनीले अवलम्वन गरेको साहित्यिक मार्गको सिद्धान्तको प्रश्न छ, उनी र उनीजस्ता यौन साहित्यकारले अबका दिनमा स्वीकार गर्नु पर्ने केही नवीनतम आयमाहरू छन् सैद्धान्तिक अध्ययनका, जसको अभावमा उनीहरू डाइनसोर बन्ने खतरा पनि छ । सिद्धान्तको जानकारी कहाँसम्म छ पुष्कर लोहनीमा भन्ने कुरामो मापन गर्दा हामी पुष्कर लेहनीले ८० को दशक सम्मका सैद्धान्तिक विकासलाई अङ्गीकार गरेका र त्यसै दशकका लेखकहरू सम्मको अनुशरण गरेको देखिन्छ । यौनको यथार्थता, प्लेटोद्वारा केटाहरूको यौन अभिमुखिकरणको कथा, फ्रायडको ओडिपस र इलेक्ट्रा कम्प्लेक्सक, काष्ट्रेशन इफेक्ट र मनोविश्लेषणका अन्य आयामको जानकारी, युङ्को सामुहिक अवचेतनको अवधारणा, बुआको लैङ्कि भिन्नता सामाजिक संरचनाको उपज भएको यथार्थ, र १९६९ को स्टोनवाल इन काण्डबाट विकसित भएको समलिङ्गी र तेस्रो लिङगीको विश्वव्यापी आन्दोलनले स्थापित गरेका यौनिक यथार्थको यथेष्ठ जानकारी पुष्कार लोहनीमा रहेको प्रतीत हुन्छ । तर, एक्काइसौं शताब्दीको सैद्धान्तिक विकासलाई पनि आगामि दिनहरूमा अङ्गीकार गर्नु उनको आवश्यकता हुनेछ, कारण उनी एउटा युगको मात्रै नभएर त्यसको क्रमिक विकासको पनि प्रनिनिध हुन् । उनको साहित्यमा यौन सम्वन्धी कुनै आयमाको कमी देखिन्छन भने होमोफोविया अर्थाय समान लिङ्गीहरूको द्वन्द (यो फ्रायडको ओडिपसि कम्प्लेक्स भन्दा फरक छ), ट्रान्सभेस्टाइट अथार्थ परिवर्तनशील यौनिकता, वाइसेक्सुअल अर्थत द्वेत यौनिकता, र सेक्स एज पर्फोमेन्स अर्थात यौनको व्यावहारिक निर्धारणजस्ता अत्यन्त नवीन सिद्धान्तहरूको प्रयोगको अभाव देखिन्छ ।

जहाँसम्म पुष्कर लोहनीका कथाको संरचनात्मक पक्षको प्रश्न छ, २०१६ सालमा प्रकाशित कथा “धरालोको टुप्पो” चरित्र–चित्रण र विषयवस्तु दुवै हिसावले कमजोर र परम्परागत छ । यो कथाले वास्तवमा यौन साहित्य हुनुको न्यूनतम मापदण्ड पनि पूरा गर्दैन, र फगत एक घटनाको चित्रणमा सिमित छ । त्यसपछिका तीन कथा “मूतको न्यानो”, “लहर फुस्किएको अवस्थामा” र “ओझेल परेको छाया” यौन कुण्ठाबाट विकसित विचलनको द्योतक हुन्, तर यौनबारे परम्परागत बोधबाट प्रथक र नयाँ आयाम थप्ने खाल्का भने छैनन् । रचनाका दृष्टिले अलि बढी परिस्कृत देखिए पनि विषयवस्तुमा परम्परागत नै छन् । तर “सहयोगी” र “प्यारी रमा” जस्ता पछिल्लो समयका कथामा विषयवस्तु र प्रस्तुतीकरणको नवीनता र परिपक्वता पुष्कर लोहनीको सशक्त कथाकारितका प्रमाण हुन् । “खै” र “कपडाका झुम्राहरू” जस्ता कथा उनको यौन मोविज्ञानमा रहेको गहिरो दखलका परिचायक हुन् र उनलाई कालजयी अस्तित्व दिन सक्ने कथाहरू हुन् । उनको समग्र लेखनको एक विलक्षण पक्ष के भने पितृसत्तात्मक समाजकै एक सन्तनी भए ता पनि पुष्कर लोहनीले लेखनमा यौन, यौन दोष, यौन कुण्ठा, हिस्टेरिया, समलिङ्गी चरित्र, नपुङ्शकता, अतृप्ति, अति कमुकता जस्ता यथार्थमा उनले पुरुष र महिलालाई बराबर हिस्सेदारको रुपमा उभ्याएका छन्, जुन धेरै अन्य यौन साहित्यकारहरूले गर्न सकेनन् । फेरि, उनका सम्पूर्ण कथामा सुधारका स्वरहरू छन्, दुराचारको विरोध छ, आत्मनियन्त्रणको आह्वान छ, अनियन्त्रित यौन कुण्ठाले निम्त्याएको भद्रगोल, विचलन, पारिवारिक कलह, हत्या, हिंसा र पागलपनको यथार्थ चित्रण छ, र कतै पनि अनियन्त्रित र अमर्यादित यौन व्यावहारको अनुमोदन पाइँदैन ।