बीपी कोइरालाको कला–ज्ञान

२०७८ बैशाख २०, सोमबार ०३:२६

(बीपी साहित्यका मर्मज्ञ थिए । यो कुरा धेरैलाई थाहा छ । तर उनी चित्रकलाका भावकमात्रै होइन, ठूला मर्मज्ञ पनि थिए । यो कुरा धेरैलाई थाहा नहुन सक्छ । उनले एउटा डायरीमा आफैँ लेखेको कुरा पढौँ ।)

१९ अगस्त, सन् १९५६ (लण्डन)

स्वास्थ्यमा केही सुधार । दिउँसो बाङ्देलसँग बाहिर निस्किएँ । उनले मलाई आफ्नो रोजाइ र निखारले निकै प्रभाव पारे ।
हामी टेट ग्यालरी हेर्न गयौँ । त्यहाँ मैले भानघोगको “सनफ्लावर” र “३८५३” विशेष रूपले हेरेँ । चित्रमा पहेँलो रङको बाहुल्य छ । कतै पनि धमिलो रङको प्रयोग छैन । मलाई “३८६१” पनि आकर्षक लाग्यो । यसको पृष्ठमूमिका साइप्रसको रुख छ । यो चित्र बनाउँदा सम्म भानघोग पागल भइसकेको थिए रे । “चेयर” अर्को, सूर्यमुखी फूलजस्तै आकर्षक चित्र हो ।

मलाई प्रभाव पारेको अर्को चित्र भनेको पल गौगुइनको “नेभरमोर” हो । यसमा प्रचूर मात्रामा कामुकता देखिन्छ, जसलाई यसमा प्रयुक्त गाढा कालो–नीलो रङको प्रभाव, र छेवैको राभेन अर्थात् कागको उपस्थितिले देखाएको छ । (यो चित्र बनाउनुभन्दा अघि गौगुइनले एडगार्ड एलान पोको “राभेन” शीर्षकको कविता पढेका थिए)। उनको अर्को चित्र “वाहिने” (फूल बोकेकी महिला) पनि प्रभावशाली लाग्यो ।
मलाई पिकासोको चित्रकलाले भने भानघोग र गौगुइनका चित्रले जति प्रभाव पारेन । नीलो रङको बाहुल्य भएका उनका “शेमिज लगाएकी महिला” र “फूलहरू” मलाई आकर्षक लागे । यी नीला रङ्का नग्न चित्रहरू क्युबिज्मका नमुना हुन् । “हिज बस्ट” अर्थात् उसको सालिक पनि क्युबिज्मको उत्कृष्ट नमुना हो, “निग्रो स्कल्पटर” पछि ।

मोनेटको “क्याथेड्रल” मा मधुरो र तीव्र सूर्यप्रकाशको प्रभाव छ । सिजेन्नीको चित्रको जस्तो ठोसता त्यहाँ पाइँदैन । सिजेनीको चित्र “४१३५” मा कोणहरू देख्न पाइन्छ, र प्रभाव पनि ठोस नै छ । सिजेनी क्युबिज्मभन्दा अगाडिकै चित्रकार हुन् । उनको “गार्नर ४७२४” केवल रेखाहरूमा कोरिएको नक्साजस्तोमात्रै छ । खास मिहिन नभएर सोलोडोलो बनाइएको चित्र हो, तर प्रभाव भने ठोस छ । डेगासको “महिलाको टाउको” चित्र नं ३३९० मा प्रयोग गरिएको रङले पुराना प्रणेताको झल्को दिन्छ ।

बेलायती चित्रकार टर्नरको “सनराइज” गाढा र हल्का पानीरङको प्रयोगमा तथा, गैन्सबोरोहको “मुसिडोरा वासिङ हर फिट” मा खुट्टा पखाल्दै गरेकी महिलाको चित्र पनि मलाई मन परे ।
डी.जी. रोसेट्टीको “ब्रिटाइज” तथा जर्ज फ्रेडेरिक वाट्सका “होप”, “इभ टेम्टेड” र “इभ रिपेन्टेड” पनि आकर्षक लागे । “पोट्रेट अफ एशर” र “अनफिनिस्ड पोट्रेट अफ मेडम गामाट्रिम” पनि सारै आकर्षक रहेछन् ।

लियोनार्डो दा भिन्चीका “भर्जिन अफ द रोक्स” (१०९३) ले मलाई निराश तुल्यायो । मलाई थाह भएन चित्रमा देखिने गाढा रातो नियन लाइटको प्रभाव वा पछिल्लो समय गरिएको मर्मतका कारणले आएको हो वा होइन । तर चित्र, मेरो लागि निराशा बोकेर आयो । मेरा लागि यो व्यक्तिगत क्षति हो । पुराना चित्रको मर्मतलाई लिएर बेलायती सञ्चारमाध्यममा धेरे वादविवाद भएको थियो । नेशनल आर्ट ग्यालरीले पुराना चित्रहरूको मर्मतको नीति लिएको थियो, र मर्मत गरिएका चित्रलाई उचित तापक्रममा राखिने दाबी गरेको थियो । मर्मत माने चित्रको मैलिकता नै गुमाउने हो कि के हो, मलाई थाह भएन । यस ग्यालरीमा दा भिन्चीको एकमात्र चित्र यही नै थियो ।

मैले यहाँ माइकल एन्जेलोका पनि आकर्षक चित्र देखिनँ, यद्यपि उनको प्रतिनिधित्व गर्ने केही चित्र भने यहाँ थिए ।

फ्रान्सिकको गोयाको चित्र “डोन इसाबेल” (१९५१) सारै राम्रो नमुना हो । तर, मुरिल्लोको “पिजेन्ट बोएज” एक प्रसन्न किशोरको चित्र हो, जसको मुस्कान अलौकिक छ । डियागो भेलाज्क्वेजको “फिलिप फोर” पनि सुन्दर चित्र हो । उनैको “रोक्बाई भिनस” एक आकर्षक महिलाको चित्र हो, जसमा उनी सुतिरहेको अवस्थामा पछाडिपट्टिको भाग देखाइएको छ । उनको अनुहार उनको अगाडि राखिएको सानो ऐनामा देखिन्छ, जुन ऐनालाई चेरबले समातेको छ । उनी सौन्दर्यकी देवी हुन् । तर उनी रुबेन्सजस्ता पुराना कलाकारले मान्ने गरेकी आदर्श सुन्दरी भने होइनन् ।

रुबेन्स (१५००–१६४०) को “द जजमेन्ट अफ पेरिस” मा तीन मोटा र बलिया महिलाहरूलाई देखाइएको छ । चित्रको बाँयातिर हल्का रङको प्रयोग छ भने दायाँतिरको पृष्ठमूमि गाढा छ । उनैको “पिस एण्ड वार” पनि स्पष्ट र वास्वतमै सूचनामूलक छ । महिलाहरू र बच्चाहरूको चित्र सुन्दर ढङ्गले बनाइएको छ । लोग्गिया डेइ लान्जीको “रेप अफ द सबिन विमेन” नामक चित्रले मलाई “हेलेन अफ ट्रोय” मा देखिने बलात्कारको दृश्यको स्मरण गरायो ।

रुबेन्सकै “लि छपिउ डी पाइल्ली” एक उत्कष्ट चित्र हो, जसमा एक उज्याली महिलालाई ठूलो गोलाकारको टोपीमा देखाइएको छ । उनका आँखा अत्यन्तै आकर्षक छन् । भान डिक (१५८४–१६४१) को “चार्लस अन द होर्स बेक” निकै ठूलो चित्र हो । ठूलो घोडामाथि सवार चाल्र्सको छरितो र आकर्षक व्यक्तित्व यस चित्रको आकर्षण हो । यस सङ्ग्रहालया भानको थुप्रै चित्रहरू राखिएको छन् ।

डेगास (१८३४–१९०७) को “कम्बिङ द हेयर” रातो र कालो रङको संयोजनमा बनाइएको एक आकर्षक चित्र हो । यसमा दुईमात्र रङको प्रयोग छ, तर यसको प्रभाव शक्तिशाली छ । चित्रमा दुई महिला देखिन्छन्ः एउटी कुर्सीमा ढल्किएकी, र अर्की उनको कपाल कोर्दैगरेकी । केही समान्य धर्काकै भरका बनाइएको यस चित्रको प्रभाव भव्य छ । यो एउटा उत्कृष्ट सिर्जना हो ।

भान घोगको “सनफ्लावर” चाहिँ मैले स्टेट ग्यालरीमा देखेजति आकर्षक लागेन ।
रेनोइर (१८४१–१९१९) को “ला सोर्स” मा ढल्किरहेकी एक महिलाको चित्र छ । उनी दायाँपट्टि ढल्किएकी छिन्, र दर्शकले उनको अनुहार देख्न सक्छन् । उनको भावभङ्गिमा यति प्रभावशाली छ कि तपाईं ग्यालरीबाट टाढिएपछि पनि तपाईंको मस्तिष्कमा त्यसको प्रभाव अक्षुण्ण रहन्छ ।

(“बीपी कोइरालाको डायरी” बाट । अङ्गेजीबाट नेपालीमा अनुवादः महेश पौड्याल । प्रकाशकः शिखा बुक्स।)
212 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal