जसपा फुट्ने लगभग निश्चित

अमृत पौडेल

0 37

सत्ता समीकरणलाई लिएर लामो समय देखि विवादमा रहेको जनता समाजवादी पार्टीको झगडा विभिन्न परिणाममा छरपस्ट देखिन थालेको छ | पछिल्लो समय बिहीबार लुम्बिनी प्रदेशका चार सदस्यलाई गरिएको कारबाही सिफारिस र पार्टीको निर्णय नभएको भन्ने जानकारी यसमा प्रमुख आधार देखिएका छन् |

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेललाई अविश्वास प्रस्ताव गरेका ६ सांसद मध्य ४ सांसदले एक घण्टा नबित्दै निर्णय फिर्ता लिई मन्त्री पदको शपथ लिएका थिए | यसलाई केन्द्रको विवादको असरका रूपमा बुझिएको थियो |

पूर्व सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपा एकीकरणको एक वर्षमै विभाजन हुने मोडमा पुग्नु पहिलो कारण त एकता प्रक्रिया अगाडी नबढ्नु पनि हो | अहिले सम्म केन्द्रीय पदाधिकारी समितिको मात्र कमिटी बनाउन सकेको जसपा बैठक बस्न नसक्ने अवस्थामा पुग्नु विभाजन उन्मुख रहेको बुझ्न सकिन्छ | पार्टीको निर्णय विपरीत मन्त्री पदको शपथ खाएका ४ सांसद सन्तोष कुमार पाण्डे, विनय कुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले पदमुक्त गर्ने निर्णय गरेका थिए |

महन्त ठाकुर र राजेन्द्र महतो पक्षले भने यसलाई एकलौटी निर्णय भएको र पार्टी विभाजनको बीजारोपण भएको भन्ने विज्ञप्ति जारी गरेको छ | बिहीबार नै अध्यक्ष ठाकुरले एकलौटी निर्णय मान्य नहुने भन्दै ४ सांसदको पद यथावत् रहेको जानकारी लुम्बिनी प्रदेश प्रमुखलाई गराई सकेका छन् | यस्तो अवस्थामा अब जसपा एक रहन नसक्ने जसपाका एक नेता बताउँछन् | बैठक बस्न पनि नसक्ने र अर्कोतिर गरिएका निर्णय बदर हुँदै जाने परिपाटीले जसपा फुटिसकेको भन्न मिल्ने उनी बताउँछन् |

Facebook Comments Box
Leave a comment