लकडाउनमा साहित्यकार : शृंखला १

२०७८ बैशाख १८, शनिबार ०३:३४

“लकडाउनमा साहित्यकार” साहित्यकारहरूको साहित्यिक दिनचर्यासम्बन्धी विशेष श्रंखलाहो । यसको हरेक शृंखलामा हामी तीनजना चर्चित लेखकहरूको दिनचर्या पढ्नेछौँ,। कोभिडको यो त्रासमय अवस्थालाई सहज, क्रियाशील, साहित्यिक बनाउन र युवा पुस्तामा पठन संस्कृति प्रवर्धन हेतु यो प्रस्तुतिले पक्कै पनि केही सकारात्मक सन्देश सञ्चार गर्नेमा हामी विश्वस्त छौँ ।

आजको शृंखलामा हामीसँग महेश पौड्याल, सुबिन भट्टराई र भीष्म उप्रेती हुनुहुन्छ ।

महेश पौड्याल

साहित्य सिर्जनामा सक्रिय महेश पौड्याल नेपाली साहित्यमा समालोचकका रूपमा समेत परिचित छन् । समालोचनासँगै साथै नेपाली साहित्यमा कथा, कविता, निबन्ध तथा अनुवादमा समेत क्रियाशील पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अङ्ग्रेजी विभागअन्तर्गत प्राध्यापनरत छन् । पौड्यालका अहिलेसम्म १२ वटा कृति प्रकाशित भइसकेका छन् । यीमध्ये आठ वटा आख्यानका छन् ।

“बाहिर मानिसहरूको करूण क्रन्दन, चिच्याहट र मृत्यु । लाचार सरकार, निरीह व्यवस्था, किंकर्तव्यविमूढ चिकित्सा विज्ञान । भित्र, त्रस्त परिवार । लाचार हामी । यस्तोमा, नयाँ केही सिर्जना वा उपलब्धि गरौँ जस्तो नै लाग्दैन । पछिल्लो लकडाउनमा पनि मैले उल्लेख्य केही गरिनँ । आफ्ना पुराना कथा टिपनटापन गरेँ, तर प्रकाशित गरिनँ । केही नगण्य अनुवाद गरेँ । अलि अलि भर्चुअल सभा र सम्मेलनमा सामेल भएँ । बढी समय शून्यतामै बित्यो ।

यसपल्ट समय अझै बढी भयाभव छ । लाग्छ, यसपालि पनि म खासै केही गर्दिनँ । अन्तिम मितिले निमोठेका स्कुलका तीन पाठ्यपुस्तक योजनामा छन् । जसरी पनि सक्नैपर्छ, सक्छु । पच्चीस नेपाली मानक कथाको अनुवादको एउटा योजना बनेको छ । सुरु पनि गरेको छु । सायद त्यो सकाउँछु होला । गीतमा काम गरौँ भन्ने लागेको हो, २०७८ मा । तर मानसिक वातावरण त्रस्त छ । कसो हुने हो, थाहा छैन ।

यस्तो समय मलाई पीडाकै सिद्धान्तमा काम गर्न मन लाग्छ । गत वर्ष पनि, पूर्वीय र पाश्चात्य शास्त्र र दर्शनले पीडालाई कसरी हेरेका छन्, खोतलेको थिएँ । बोलेको पनि थिएँ धेरै भर्चुअल सभाहरूमा । यस्तो बेला, त्यो स्वाभाविक र प्राकृतिक पनि लाग्छ । यसपालि, यसै विषयमा थप अध्ययन गर्छु होला, सायद । र कतै न कतै मेरा सैद्धान्तिक लेखहरूमा ती कुरा आउने नै छन् ।

पाठकहरूलाई भन्छु — गीत गाऔँ । प्रवचनहरू सुनौँ । खुला प्रकृतिको दृश्यावलोकन गरौँ, घरबाटै, झ्यालबाटै, कौसी वा बार्दलीबाटै भए पनि । चराहरूको जीवन हेरौँ । रुखहरूलाई हेरौँ र आनन्दित बनौँ । टाढाका पहाडहरूलाई हेरौँ र सोचौँ — हाम्रा बा–बाजेहरूले पनि हेरेका पहाड हुन् ती । यति सोच खुसी हुनका लागि काफी छ ।

हरेक सङ्कटकाल मान्छेको विवेक र धैर्यको परीक्षा हो । हामी परीक्षामा छौँ । प्रत्येक सङ्कटले महामानव जन्माएको छ । युग परिवर्तन गरेको छ । मान्छेलाई भगवान् बनाएको पनि छ । सायद हामी यस्तै एउटा नवयुगको संघारमा पो छौँ कि?

यो आशा, यस समयको सञ्जीवनी हो सायद ।”

सुबिन भट्टराई

समर लभ’, ‘साया’, ‘प्रिय सुफी’, ‘मनसुन’ जस्ता सफल पुस्तकका लेखक सुबिन भट्टराई युवापुस्तामाझ निकै लोकप्रिय छन् । अझ भनौँ नयाँ पुस्तामा नेपाली उपन्यास पढ्ने परम्पराको विकास उनकै पुस्तकले गरेको भन्ने पनि गरिन्छ । हरेक नयाँ पुस्तकको युवापुस्तामा व्यग्र प्रतीक्षा हुने गर्दछ । अहिले उनी नयाँ पुस्तक ‘प्रिय सुफी’ का कारण चर्चामा छन् । उनको चर्चित उपन्यास ‘समर लभ’ माथि फिल्म नै निर्माण भइसकेको छ ।

“पूर्णकालीन लेखक हुँ । दिन केही पढेर, केही लेखेर, सिनेमा, सिरिज हेरेर र घर परिवारसितै ज्यादा बितिरहेको छ । कोरोनाका लहरहरू नहुँदा पनि मेरा दिनचर्या यिनै हुन् । घुमफिर एउटा थपिन्थ्यो अरू बेला बस् । आक्कलझुक्कलको भेटघाट हुन्थ्यो अर्को । अहिले त्यो छैन । डेढ घण्टे इभिनिंग वाकको साटो पौने घण्टा घरको सिँढी तलमाथि गर्छु । दिनभरि जति आरामले बसे पनि एउटा समय भने शरीरलाई खूब दुःख दिन्छु ।

एउटा पुस्तकको पाण्डुलिपि लेखेर सकिएको छ, प्रकाशककहाँ पठाएको छु । सुझावहरू आएपछि त्यसैमा काम हुनेछ । तत्काल अरू कुनै पुस्तकमा काम गर्ने योजना छैन । केही महिना पढ्नमै ज्यादा केन्द्रित हुनेछु । पढ्न थाँतीरहेका धेरै पुस्तकहरू छन् । हेर्न बाँकी सिनेमाहरू थुप्रेका छन् । तर विगत दुई वर्षदेखि सिनेमाभन्दा सिरिजहरूले बढी तान्न थालेको छ । केही लेख्नुपर्छ भन्ने लाग्यो भने, परिस्थितिले झक्झक्यायो भने मैले लेख्छु वा लेख्दिनँ भनेर धर पाउँदिन, स्वचालित रूपमा त्यो घटित हुन पुग्छ ।

जोइन्ट फ्यामीलीमा बस्छु, धेरै समय त परिवारसित पनि बित्छ । तीन वर्षको छोरा छ, उसका चकचक हेरेर, हाँसेर, हप्काएर, फकाएर पनि समय धेरै गुज्रिन्छ । उसै पनि घर बाहिर निस्कन मन नपराउनेलाई कोभिडको यो लहरले कुनै असर त गरेको छैन तर समग्र देशमा आइपरेको सङ्कटले भने मन स्थिर भएर बस्न नसक्दो रहेछ, त्यस अर्थमा असर गरेकै भन्नुपर्छ ।”

भीष्म उप्रेती

कवि, निबन्धकार, उपन्यासकार भिष्म उप्रेतीका डेढ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। नेपालीबाहेक उनका धेरै साहित्यिक सिर्जनाहरू अङ्ग्रेजी, हिन्दी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, जापानी, सिंहला, कम्बोडियन, रुसी, तमिल र बंगाली भाषाहरूमा प्रकाशित भएका छन् । नेपाल एकेडेमीले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवका स्वर्ण पदक विजेता श्री उप्रेती सार्क साहित्य पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कारलगायत प्रतिष्ठित पुरस्कारहरूबाट विभूषित छन्।

गएको वर्ष संसारभरिका सबै मानिसहरूको लागि अनपेक्षित एवम् त्रासदीमय भएर बित्यो । त्यो अवस्था अहिले झनै सघन रूपमा देखा परेको छ । समय यसरी यति कठोर होला भनेर कसले सोचेको थियो होला र ?
नेपालमा पनि २०७६ चैत ११ गते सरकारले कोभिड १९ को बढ्दो विश्वव्यापी त्रासले आत्तिएर एकाएक लकडाउन गर्र्यो । शुरुमा छोटो अवधिको लागि गरिएको लकडाउन लम्बिँदै गएर साउनको अन्तिम सातासम्म पुग्यो । त्यसपछि लकडाउन औपचारिक रूपमा त देखिएन तर कोभिडको नग्न नृत्य जारी नै रहेको कारणले जनजीवन सामान्य हुन सकेन ।

एउटा मानिस र लेखकको रूपमा म आफैँ पनि यस अनपेक्षित अवस्थालाई स्वीकार गर्न सहज अवस्थामा थिइनँ । शुरुका दुई दिन अन्यौलमा बिते । तर तेस्रो दिन बिहान ब्यूँझदा घरको साना बगैँचामा चराहरू चिरिबिरी गरिरहेका थिए । मैले उठेर झ्यालबाट ती चराहरूलाई हेरेँ । ती समयको दुश्चक्रभन्दा माथि उठेर निश्फिक्री पूर्ण जीवन बाँचिरहेका थिए । मैले त्यस विषम परिस्थितिमा पहिलो प्रेरणा तिनीहरूबाट लिएँ । यसैगरी, माथि आकाशतिर फर्केर हेरेँ । त्यो एकदम गाढा नीलो थियो र बीचबीचमा सेता बादलका बुट्टाहरू थिए । उत्तरतिर मुस्कुराइरहेका हिमालहरू थिए । प्रदुषण स्वाट्टै घटेको थियो र प्रकृति नयाँ कलेवरमा देखिँदै थियो । जीवनको लागि त्यो ठूलो प्रेरणा हुन सक्थ्यो । मैले दोस्रो प्रेरणा त्यहाँबाट लिएँ ।


त्यसपछि मभित्रको अन्यौल त्रासदीपूर्ण अवस्थाले विदा लियो । जीवनलाई नयाँ किसिमले व्यवस्थित गर्नुपर्छ भन्ने सोचेँ । यो एउटा अवसर हो आँफैभित्र प्रवेश गर्ने, ज्ञानको, विवेकको, सिर्जनाको नयाँ ढोका पहिल्याउने र खोल्दै जाने । मैले त्यसपछि पढ्न नभ्याएका थुप्रै किताबहरू पढ्न शुरु गरेँ । अमृता प्रितमलाई पढेँ, स्वामी योगानन्दलाई पढेँ, केही कोरियाली कविहरूलाई पढेँ, मनिषा कोइरालाको आत्मसंस्मरण पढेँ, श्रीलङ्काली प्रसिद्ध उपन्यासकार मोहनराज मद्वालालाई पढेँ । वानीरा गिरीको संस्मरण पढेँ, तोया गुरुङको कविता पढेँ । अरू थुप्रै फुटकर कविता, कथा र निबन्धहरू पढेँ । मैले दक्षिण एशियाका विभिन्न पुस्ताका कविहरूसँग सम्पर्क गरेँ र उनीहरूसँग स्वीकृति लिएर उनीहरूका कविताहरूलाई नेपालीमा अनुवाद गरेँ । ती कविताहरूको सङ्ग्रह ‘दक्षिण एशियाका कविता’ शीर्षकमा नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने क्रममा छ । यसैगरी, मैले डा. समय हामेद नामका आजका अफगानिस्तानका प्रसिद्ध कविको कवितासङ्ग्रह नेपाली भाषामा अनुवाद गरेँ । मैले श्रीलङ्काकी नयाँ पुस्ताकी कवि निसान्सला धर्मसेनासँग संयुक्त रूपमा कविता लेख्दै थिएँ, त्यसलाई पूरा गरेँ । यसैगरी, पचासौँ कविता लेखेँ । केही निबन्ध, संस्मरण र व्यक्तिचित्र लेखेँ । सगरमाथा आधारशिविरसम्म पैदलयात्रा गरेको नियात्रा लेख्दैथिएँ, त्यो सम्पन्न गरेँ जुन अहिले शिखा बुक्सबाट ‘हिमाल, शेर्पा र यती’ शीर्षकमा प्रकाशित भएको छ । त्यसै समयमा मेरो पाइला पाइला उपन्यासको सिँहाला भाषामा अनुवाद भयो र त्यो गएको सेप्टेम्बरमा केएसपी पब्लिसर्सबाट कोलम्बोमा प्रकाशित भयो । त्यसको अत्यन्तै राम्रो प्रतिक्रिया आइरहेको छ । इन्दुली नाम गरेकी एकजना श्रीलङ्काली पाठकले मलाई लेखिन्– पाइला पाइला पढेपछि तपाईंको लेखनले मोहित भएँ । अब अर्को उपन्यास पढ्न चाहन्छु । कहिले पढ्न पाउँछु ? अँ, अहिले भर्खरै मेरो त्यही उपन्यासको अङ्ग्रेजी संस्करण भारतको नयाँदिल्लीस्थित ब्रोसिस पब्लिसर्सबाट प्रकाशित भएको छ । र, अर्को खुशीको कुरा, मेरो एउटा कवितासङ्ग्रह अफगानिस्तानको काबुलबाट फारसी भाषामा प्रकाशित भएको छ । अँ, मैले गएको माघ २५गते मेरा नयाँ कविताहरूको एकल कवितावाचन समेत गरे नेशनल कलेजको सभाकक्षमा ।


मैले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल साहित्यिक गोष्ठीहरूमा सहभागिता जनाएँ । दुइटा विदेशी लेखकको पस्तकमा ब्लर लेखेँ, एउटी विदेशी कविको कवितासङ्ग्रहमा भूमिका लेखेँ र दुईजना नेपाली लेखकको पुस्तकमा भूमिका लेखेँ । यस बीचमा मेरा निकैवटा रचनाहरू विदेशी जर्नलहरूमा छापिएका छन् । म अहिले पनि ब्रुनाइका कविहरूसँग मिलेर ११ जना नेपाली कवि र ११ जना बु्रुनाइका कविहरूको संयुक्त कवितासङ्ग्रह ३ भाषामा प्रकाशन गर्ने कार्यमा संलग्न छु ।


अब यसो पछाडि फर्केर हेर्छु, मलाई कोभिडको त्रासले पिरोलिने फुर्सत कहाँ थियो त ? मैले घरमा बस्नुपरेको यस अवसरलाई पूर्ण रूपले सिर्जनात्मक र उत्पादक बनाएँ । बीचमा केही खुकुलो भएको बेलामा मैले झापा, भोजपुर, गोरखा र सौराहाको भ्रमण गरेर आफूलाई केही ताजा पनि बनाएको छु । अब कोभिडको दोस्रो लहर शुरु भएको छ र सरकारले पुनः निषेधाज्ञा जारी गरेको छ । यसलाई मैले मेरो सिर्जनात्मक जीवनको अर्को अवसरको रूपमा लिएको छु । अहिले पनि पढ्नुपर्ने किताबको लिष्ट लामै छ, त्यसलाई पूरा गर्नुछ । केही नयाँ लेखन, अनुवादको काम लाइनमा छन् । म तिनलाई अघि बढाइरहेको छु । यो पटकको निषेधाज्ञामा त पहिलाको जस्तो अन्यौलपूर्ण अवस्था समेत छैन । बानी परिसकेको छ ।


जीवन छोटो छ, र अनिश्चित पनि छ । गर्नुपर्ने कामहरू धेरै छन् । त्यसैले भोलि गर्छु भनेर पन्छाउन मलाई मन लाग्दैन । मेरा कतिपय स्वदेशी र विदेशी लेखक साथीहरू मुडअफ गरेर, निराश भएर बसेका छन् । हाम्रो निराशा र चिन्ताले मात्र कोभिडलाई जितिँदैन, हामी जति सक्रिय र सिर्जनशील हुन्छौँ त्यति नै हामी यस हत्यारा भाइरसलाई जित्न सक्छौँ भनेर म उनीहरूलाई पनि सम्झाउने गर्छु ।”

242 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal