देवता र असुरलाई मान्छे बनाउनु नै हाम्रो पहिलो कर्तव्य हो : नरेश रेग्मी

0 155
कम्युनिस्टहरूले मार्क्सवाद मात्र होइन गीता पनि पढ्नु पर्छ। गीतालाई अध्यात्मवादीहरू र धर्मभीरुहरुको सम्पत्ति बन्न दिनु हुन्न।मार्क्सवाद पढ्न जति जरुरी छ ,बाइबल पढ्न पनि त्यति नै जरुरी छ। हामीहरूले खोजी खोजी त्रिपिटक पढ्नु पर्छ।वेद उपनिषद,पुराण,कुरान, तालमुड,मुन्धुम नपढेर त वास्तवमा मार्क्सवादी नै भइन्न।
यी सबै किताबहरू कुनै निश्चित समूहको सम्पत्ति नभएर सिङ्गो मानव समाजका सम्पत्ति हुन। हरेक किताबमा सभ्यताको विकासक्रम बुझाउने केही ज्ञान लुकेको हुन्छ। हाम्रो खोजी यी किताबहरूको चिन्तन पद्धति बुझ्नको लागि हुनु पर्छ।
तर कम्युनिस्टहरूले भगवान् बोकेर हिड्ने होइन।धर्मको राजनिति गर्ने होइन। मन्दिर बनाएर राजनीति गर्ने एउटै छुट्टै वर्ग दृष्टिकोण छ। मन्दिरको राजनीति उनीहरुकै कित्तामा पर्छ। मार्क्सवादीहरुको आफ्नै विश्व दृष्टिकोण छ जसलाई हामी द्वन्द्वात्मक भौतिकवाद भन्छौँ। रामायणको कथाहरुसँग मार्क्सवाद साट्ने होइन। कम्युनिस्ट हुनु भनेको अत्यन्त धेरै पढ्नु हो तर सबैभन्दा मुख्य विषय मार्क्सवादीहरुले पढ्नको लागि मात्र पढ्नु हुन्न। कथाहरु भट्ट्याउनको लागि मात्र पढ्न हुन्न।
आध्यात्मवादीहरुले यी किताबहरुको आदर्शवादी व्याख्या गर्छन्। कम्युनिष्टहरुले यी किताबहरुको भौतिकवादी रूपमा बुझ्नुपर्छ। इतिहासलाई हेर्ने कम्युनिष्ट आँखा भनेको ऐतिहासिक भौतिकवाद हो।
यसरी पढ्नु पर्छ कि स्वर्गबाट झरेको राम धर्तीकै उत्पादन हो भन्ने विषय छरलङ्ग होस्। यसरी पढ्नुपर्छ कि आकासमा उड्ने कथाका देउताहरु धर्तीमा झर्न बाध्य होउन। देवता र असुरलाई मान्छे बनाउनु नै हाम्रो पहिलो कर्तव्य हो। टाउकोले टेकेका मिथकहरुलाई दुई खुट्टामा नउभ्याउँदासम्म हाम्रो विजय सम्भव छैन। मिथकबाट सत्यलाई छुट्टाउन पर्छ। ईश्वर मान्छेले निर्माण गर्ने मिठो जहर हो भनेर प्रमाणित गर्न लाग्नुको सट्टा कम्युनिस्ट पार्टीको नेताले कथाको रामलाई भगवान् मानेर यो मिठो जहर पिउने होइन।
हामीले चिन्नुपर्छ बाइबलको त्यो नोहा को थियो र त्यो बाढीले मानव समाजमा के असर गर्‍यो ? हामीले कुरानको अब्राहमलाई अल्लाहको दूतबाट मुक्त गराएर मान्छेको पाइलासँग हिडाउनु पर्छ। हामीले बुझाउनु पर्छ सबैलाई कि कुमारी आमाबाट जन्मिएको यिसुको कथा झूठ हो। येसु थियो तर उसकी आमा कुमारी थिइनन्। बुद्ध थिए तर उनी जन्मिँदै सात पाइला हिँडेका होइनन् भनेर समाजलाई बुझाउनु पर्छ।हामीले पढ्नु पर्छ र इतिहासलाई अध्यात्मवादको कुहिरोमा हराउन दिनु हुन्न।
महादेवको त्रिशूलमा औजारहरूको विकासक्रम लुकेको हुन सक्छ। उनले लगाउने बागको छालामा एउटा युगको कथा हुन सक्छ जब मान्छेहरू जनावरको छाला ओढ्थे। अर्जुनको गाण्डीवमा मान्छेले बनाएको धनुषवाणको इतिहास छ। महाभारतका रथहरूमा पाङ्ग्राको इतिहास छ। द्रौपदीको पाँच पतिबाट विवाह पद्धतिको इतिहास छ। कृष्णले गरेको रुक्मिणीको हरणमा विवाहको पद्धति लुकेको छ। महाभारतको युद्धमा निजी सम्पत्तिको उदयको इतिहास छ।
हामीले पढ्ने भनेको त्यो बेलाको उत्पादन प्रणाली हो। हामीले बुझ्ने भनेको त्यो बेलाका उत्पादनका साधन हुन् । हामीले बुझाउने भनेको त्यो बेलाको उत्पादन सम्बन्ध हो। कैयौँ मार्क्सवादीहरुले यस प्रकारका सामाग्रीहरुको व्याख्या गरेर अन्त्य राम्रा पुस्तकहरू लेखेका छन्। हामीले पढ्ने पनि त्यसरी नै हो।यी कथाहरूलाई आदर्शवादको महासागरमा डुब्न दिनु हुन्न र कथाहरूकै मायाजालमा फस्नु हुन्न।
राम जन्मेको र मरेको घटनाले श्रमजीवी वर्गको जिन्दगीमा केही फरक पार्दैन। मन्दिरले गरीबको घरमा चुलो जल्दैन। कम्युनिष्टहरू कथामा लुकेका तथ्यहरुबाट सत्यमा पुग्नु पर्छ र विना अनुसन्धान मनोगत व्याख्या कम्युनिस्टहरूले गर्न मिल्दैन। मुन्धुममा लुकेका मानव समाजका कथाबाट भाग्नु पनि हुँदैन। यी किताबहरुले गर्दा समाजको मार्क्सवादी व्याख्या गर्न झन् सजिलो भएको छ। कम्युनिस्टहरूले यी किताबहरू झन् पढ्नु पर्छ तर के को लागि पढ्ने भन्ने कुरामा स्पष्ट हुनु पर्छ।
प्रधानमन्त्रीको सन्दर्भमा वहाँले यसरी नै सोचेको विषय हुन्थ्यो भने स्वागत नै गरिन्थ्यो तर वहाँ मार्क्सवादी कोणबाट नभएर हिन्दु धर्मका कथाहरु भजाएर राजनीति गर्ने दक्षिणपन्थी चिन्तनबाट ग्रसित हुनुहुन्छ। यस प्रकारको चिन्तन पद्धति कम्युनिस्टहरुको होइन।
Facebook Comments Box
Leave a comment