कविता : अमर सपनाहरू

कवि : सबिना गोपाली

0 66

न तन अमर छ न त मन
अमर त यी निश्चल आखाले देखेका सपनाहरू छन
किनकि ती सपनाहरू
निर्मल अनि पबित्र हुन्छन्
न यो घनघोर बर्षाले पखालिन्छ
न त कठोर चिसा बरफमा नै जम्छ
यो त निस्फिक्री उड्दै हुर्किन्छ निलो गगनमा
बिना निषेध आज्ञाको
त्यसैले होला
सपनाहरू लोभलाग्दा हुन्छन्
मान्छेहरू सपनाको लागि मरिहत्ते गर्छन्
जिउदो होउन्जेल सपनाहरू साकार गर्न
दिनरात निर्जीव झै भड्किन्छन
र सपनाहरू पुरा गर्न खोज्छन्
यद्यपि,
यी सपनाहरु पुरा गर्ने मान्छेहरु एउटा कुरा बिर्सन्छन
आखिर सपनाहरू के चाहन्छन?
मलाई लाग्छ ,
सपनाहरू मान्छे संगै जिउन चाहन्छन
मान्छेका खुशी संगै हास्न अनि दु:ख संगै रुन चाहन्छन
किनकि
अमर सपनाहरू त्यस्ता हुन्छन्
जुन जिवित मान्छेले मात्र देखेका हुन्छन्
मरेर देखेका सपनाहरू त
सिमलको भुवा जस्तै कता कता
प्रत्येक स्वास संगै विलीन हुन्छन्
त्यसैले मलाई लाग्छ
अमर सपनाहरू त्यस्ता हुन्छन्
जसलाई मान्छेको शरीरले होइन
मान्छेको अमर इच्क्षाले जन्माएका हुन्छन्
जसले मान्छेलाई बाच्न सिकाउछ,
हास्न सिकाउछ र रम्न सिकाउछ
अनि आफ्नो तन र मन मरे पनि
प्रत्येक पल आफ्नो अस्तित्व बोध गराउछ
आफू पनि बाच्छ अनि मरेका मान्छेहरुलाइ पनि
ती अमर सपनाहरूले अमर बनाई राख्छन
जस्तै धरहरा ,
जस्तै सगरमाथा
जस्तै बुद्ध ,
हो यस्तै यस्तै हुन्छन्
अमर सपनाहरू
जसले कयौं अरु अमर सपनाहरूलाई
जन्म दिन्छन र कयौं आत्मालाई
पुनर्जीवन दिन्छ,
त्यसैले म भन्छु
यी निश्चल आखाहरुलाइ
खुल्ला छोडिदिनु
ताकी यस्ले
सधै सजिब, शक्तिशाली
अमर सपनाहरू देखोस !
केवल अमर सपनाहरू

Facebook Comments Box
Leave a comment