कर्णालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १६, बिहीबार ११:४८

कर्णाली– कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमित एक जनाको मृत्यु भएको छ।

कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको आज बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो। सोही दिन पीसीआर परीक्षण हुँदा कोरोना पुष्टि भएको थियो।

कोभिड आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरे पनि ती व्यक्तिको स्वास्थ्यमा सुधार आउन नसकेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गर्ने तयारी गरेको छ।

यससँगै कर्णालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। कोरोनाको नयाँ भेरियन्ट आएसँगै कर्णालीमा पनि सङ्क्रमण र मृत्युदर बढेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका चार जनाको मृत्यु भएको छ। हाल कर्णालीका विभिन्न आइसोलेशन वार्डमा ९८१ सङ्क्रमितको उपचार भइरहेको छ।

186 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal