लकडाउन अनि गौँथली

२०७८ बैशाख १६, बिहीबार ०९:२६
धुम्बाराही, पिपलबोट नजिकै हाम्रो सानो स्टेसनरी दोकान छ। हामीले यसै स्थानमा दोकान गरेको कयौँ बर्ष पुगिसक्यो र यसै दोकानमा गौंथलीले गुड बनाएको पनि! सदैव सबेरै दोकान खोलेपछि गौँथली भुर्र उडेर जान्थ्यो र बेलुकी दोकान बन्द गर्नु अगावै आइ गुडमा बस्दथ्यो।
कहिलेकाहीँ काम पर्दा अथवा निकै दिन दोकान बन्द गर्नुपर्ने स्थिति आएमा अघिल्लो दिन बेलुकी नै मजबुरीमा दोकान बन्द गर्नु अघि हामी  गौँथली भगाइ दिन्थ्यौं र दोकान बन्द गर्थ्यौँ ।
वैशाख १६ बाट निषेधाज्ञा हुने भन्ने हल्ला दुई दिन अगाडिदेखिनै सुन्न थालियो। सो खबर सुनेपछि मैले मनमनै बिचार गर्न थाले, “अब त हाम्रो दोकान पनि अलि दिन बन्द हुने भयो।” त्यतिकैमा मेरो नजर हाम्रो दोकानमा गुड बनाएर बसेको गौंथली र त्यसको सानो २ जोडी भर्खरै जन्मेर पखेटा समेत राम्ररी पलाइनसकेको त्यसका बच्चाहरूमा पुग्यो। यसपालिको अवस्था पहिले भन्दा अलि फरक थियो। माउलाइ त भगाइदिउला तर ती ४ बच्चा अलपत्र पर्न जान्थे। दिनहुँ चारो ल्याउँदै आफ्ना बच्चालाई खुवाउने गरेको मैले थुप्रै दिनदेखि नियाल्दै आएकी थिए। फेरि एउटालाई मात्र हैन चार वटालाई! त्यस गौँथलीको दिनचर्या यसरी नै बित्दै आएको थियो अचेल। अब मलाई यस कुराले सोच्न बाध्य बनायो।
हाम्रो दोकानमा सटर बाहेक पनि पछाडिपट्टी एउटा सानो ढोका छ, जुन हामीले सायदै खोल्दथ्यौ। मैले मन मनै बिचार गरे,” अब यही ढोका दिउँसोभरी खोलदिनुपर्यो, त्यसोगर्दा गौथलीले येहि ढोकाबाट निस्केर अफ्ना बच्चाहरुलाई चारो ल्याएर खुवाउला।”
आज बिहानै आएर मैले त्य्स ढोका खोलिदिए र बत्ती बालिदिए। अनि एकछिन् बसेर हेरें । सधैं  सटरबाट जाने बानी परेको गौँथली आज त्यस ढोकाबाट गएन। धेरै बेर भएपछी गौँथली दोकान भित्रै यताउता उड्न थाल्यो। बच्चाहरूपनि कराउन थाले। सायद भोकाएर  होलान्! केही बेरपछि गौँथली त्यस ढोकाबाट निस्क्यो । मैले लामो सास फेरे र आनन्द मान्दै सोचे, “अब यी गौथलिहरु भोकले नमर्ने भये।” तर खै के भयो, पहिला त छिटै आएर  पालैपालो आफ्ना बच्चालाई चारो खुवाउने माउ, आज सायद यो ढोकाबाट आउन जान गाह्रो भयो कि के भयो यत्रोबेर भैसक्दा पनि फर्किएर आएन!
271 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal