संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो:अध्यक्ष केसी

२०७९ आश्विन २५, मंगलवार १९:४७

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएको छ ।

गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गर्नुभयो । “अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो”, उहाँले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।” उहाँले संविधानका उपलब्धिको रक्षा गर्ने सर्तमा भिन्न विचार र कार्यशैली भएका दलहरुबीचमा संयुक्त चुनावी मोर्चा बनेको धारणा राख्नुभयो ।

“ठूल्ठूला राजनीतिक परिवर्तन प्रजातान्त्रिक र वाम शक्ति मिलेर नै सम्भव भएको हो”, उहाँले भन्नुभयो, “अन्तरविरोध हुँदाहुँदै पनि साझा मुद्दामा दलहरुबीच संयुक्त मोर्चा र कार्यगत एकता हुन्छ ।” अध्यक्ष केसीले चुनाव जितेर संसद्मा गएपछि आफूले आधारभूत तहका जनताको आवाजको प्रतिनिधित्व गर्ने बताउनुभयो । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट चुनाव जित्नुभएका केसी अहिलेको चुनावमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।

347 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal