कविता : धरहराको उचाइ

२०७८ बैशाख १४, मंगलवार १५:००
उचाइको निर्माण,
केवल देखाउनको लागि मात्रै होइन
अन्तर मनले देख्नका लागि पनि हुन्छ
नदेखिएका धेरै चीजहरू
सहजै देखिन्छन् उचाइबाट
जस्तो कि
सहजै देख्छन् उचाइबाट
झुप्रो भित्र फाटेका जाँघेहरूले पनि
भव्य महलहरूका छतहरू
आलिशान घरहरूका सन-बाथ
सिंहदरबार/बालुवाटारको चकचक
अभावको खडेरीमै पनि
बडो तामझामका साथ
लगाएर पैसै पैसाको जलप
भर्खरै खडा भएको छ धरहरा
यतिखेर
सहर मख्ख छ – देखेर धरहराको उचाइ ।
राखेर तपशीलमा
सोध्नुपर्ने धेरै कुराहरू
मलाई भने
मेरो प्रधानमन्त्रीलाई एउटै कुरा सोध्नु छ !
प्रधानमन्त्री ज्यू !
धरहराको उचाइबाट
प्रेम गर्दा गर्दै मारिएको सार्की केटोको
चारसाले बेवारिसे कङ्काल देख्नु भो कि नाइँ ?
120 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal