सामान्य पात्रमा नायकत्वको खोजी : अपरिचित अनुहार

हर्कबहादुर लाम्गादे ‘रोहित’

32

‘कथा’ साहित्यिक चश्माले नहेर्नु हो भने यो सबैले जानेको लोकप्रिय शब्द हो । शिशुमा चेतना नपसी उसका बा–आमाले परी र बाघ–भालुका कथा सुनाएका हुन्छन्। सबै मान्छे कथावाचक अनि श्रोता हुन्। प्रत्येकको जीवनले कथा बोकेको हुन्छ चाहे त्यो कथा कष्टको होस् या हर्षको। प्रायःले दिनै कथा सुनिरहेका हुन्छन् या सुनाइरहेका। आमाको कथा, बाबाको कथा, आफूसँग घटेका कथा या समाजमा विद्यमान कथा । अप्रत्यक्ष रूपमा हामी सबै कथाकार हौं। साहित्यिक कथाकार र सामान्य कथाहारमा यही अन्तर छ कि साहित्यिक कथाकारले शैलीगत ढाँचामा लेख्छ जो अक्षरमा सजिएर अमर हुन्छ। कथाले मनुष्य जीवनसँग सीधा सम्बन्ध राख्दछ। कथा मात्र राजा–महाराजा, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, राजनेता, प्रतिष्ठित अभिनेता–अभिनेत्रीमा मात्रै हुन्छन् भन्ने हैन अपितु समाजमा बस्ने प्रत्येक मानिसमा कथा हुने गर्छ। कथा लेख्ने कथाकारमा निर्भर हुन्छ कि उसको लेखनीय दृष्टि कुन पात्रमा आकर्षित हुन्छ।

यो सत्य कुरा हो कि अनादि कालदेखि नै दरबारमा राजा र उसको परिवरको कथा एवं इतिहास लेख्ने साहित्यकारको ताँतो हुन्थ्यो। राजा–महाराजा बाहेक सामान्य जनताको कथा लेख्ने साहित्यकार दुर्भल नै भेटिए। वर्तमानमा हेर्दा पनि प्रतिष्ठित व्यक्तिकै कथा अधिक लेखिने गरिन्छ। शक्तिशाली पात्रमै लेखकको कलम अघि सर्छ। जाँगर चल्छ। कुरा गरौं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको । दिनै कुनै न कुनै लेखकले उहाँबारे लेखेर पुस्तक लोकार्पण गरिरहेका हुन्छन्। समाजका ती समान्य पात्रका असामान्य कथा लेख्ने कथाकार थोरै मात्रमा उपलब्ध छन् । जीवनमा कहिलेकाहीँ सामान्य मान्छेको कथाले ठूलो सिख दिइराखेको हुन्छ। बाघको कथा रोचक हुन्छ भने कमिलाले दिएको शिक्षा सुनसरी हुन्छ ।

‘अपरिचित अनुहार’ का सर्जक श्री महेश पौड्याल पनि बाघको पछि नलागेर कमिलाको पछि लाग्ने साहित्यकार रहेछन् ।  महेश पौड्याल साहित्य संसारमा परिचय गराइहनु पर्ने नाम होइन। यहाँ उहाँको परिचय कोरिदिनु भनेको उहाँले साहित्यमा दिएको योगदानलाई होच्याउनु हो। अनि त्यो अनर्थ म यहाँ गर्न चाहन्नँ।

महेश पौड्याल पढ्नेलाई थाहा होला उनलाई केटाकेटी अनि नदी धेरै मन पर्छ। उनका रचनामा बालजीवन एवं नदी किनारको सन्दर्भ आइरहेको पाइन्छ। भावनासँग खेल्नमा उनले महारथ प्राप्त गरेका छन् जस्तो लाग्छ। पाठकलाई कस्तो भाषा मन पर्छ? कुन शब्दले पाठको हृदय कम्पित हुन्छ? कस्तो सन्दर्भले पाठकको मनमा परिवर्तन ल्याउँछ? महेश पौड्याललाई पाठकको रुचि बुझ्ने अर्कै चेतनाको दृष्टि छ भन्दा यहाँ केही अतिशयोक्ति नहोला।  ‘तादी किनारको गीत’ का उपन्याकर उदाएर मध्यान्नमा पुगेको घाम हुन् जसको प्रकाशले नेपाली एवं अंग्रेजी साहित्य पल्लवित हुँदैछ।

सूर्यको उल्लेख गर्दा दुई पंक्तिको कथा लेख्न मन लाग्यो। एक दिन टिमटिम गर्दैगरेको दीपलाई कसैले भनेछ अरे- सूर्यको प्रकाशले यो सारा संसार गतिमान छ। व्यर्थमा तँ बलेर किन शक्ति क्षीण गर्छस्? केही नभनी दीपले मुसुक्क हाँसेछ । केही क्षणमा अन्ध्यारो हुँदा दीपले त्यसैलाई जाने बाटो देखाइदिए छ अरे। कथा समाप्त।

समीक्षा लेख्दा सकारात्म र नकरात्मक पाटा दुवै सराबरी लेख्नुपर्छ भन्ने सिद्धान्त बनाइएको रहेछ। सिद्धान्तलाई पर राखेर ‘अपरिचित अनुहार’ को मुहारमा लगाइएको श्रृङ्गार कस्तो रहेछ भनी सबैलाई परिचति गराउन यहाँ उपस्थित भएँ।  ‘अपरिचित अनुहारमा’ अठार कथाले गहरिएको नदीमा म डुबेको अनुभव भन्न लाग्दैछु। कथाकारलाई नदी मन पर्छ — फेरि स्मरण गराइदिएँ।

बाहिरी भागको पुस्तक अवलोकन गर्दा महेश पौड्यालको अनुहार नै भेटिँदैन। प्रायः पुस्तकमा लेखकले चिटिक्क परेर खिचेको छायाचित्र लगाएका हुन्छन्। ‘अपरिचित अनुहार’ को आवरण पृष्ठमा नदी किनारमा दिमाग नै खल्बलाइदिने कलात्मक अनुहार भएको चित्र रहेछ। चित्रमा दिमाग नलगाई नदीमा हाम्फाल्ने मन हुन्छ किनभने चित्रको अनुहार पढ्न लाग्दा पाँच–दस मिनट त लाग्छै लाग्छ। आवरण चित्रले  ‘अपरिचित अनुहार’ पुस्तकको नामकरण सुहाउने बनाएको छ।

‘अपरिचित अनुहार’ शाीर्षक हुनाले पनि पाठकले कथा पढेर अपरिचित अनुहारबाट परिचित भएँ भनेर स्वतः प्रतिक्रिया दिनेछन्। सधैं समाजका प्रतिष्ठित नायक र खलनायकका कथा पढ्नेले पनि अपरिचत अनुहारमा डुबल्की लगाउँदा आफूलाई कथाका पात्रका छेउछाउ पाएको महसुस गर्नेछन्। धेरै पाठकले अपरिचित अनुहारभन्दा परिचित अनुहार नै कथाका पात्रमा भेट्नु हुनेछ। मैले कथा  ‘अपरिचत अनुहार’ का दिव्य पुरूष बाहेक भेटेका, बोलेका, देखेका पात्र मात्र थिए, तर उनीहरूको विशेषताबाट परिचित यो कथा संग्रहले छर्लंग पारिदियो। यी सामान्य पात्रबाट कथाकार असामान्य प्रस्तुति बोकेर हिँडेकाछन् । मन प्रत्येक कथाले छिचोल्छ। पात्रको चरित्र पढेर रमाउँछ।

अठार कथाका भिन्न–भिन्न विशेषता छन्। रसले भरिएका रसिला, संदेशले भरिएका ज्ञानवर्धक। ती सामान्य पात्र एवं स–साना घटनाबाट ठूलो शिक्षा दिन कथाकार सफल भएको प्रमाण भेटिन्छ। पाठकले जाँच गरेर अङ्क सयमा सय दिन पनि लोभ गर्दैन होला! दिने चैँ दानी हुनु पर्यो। कर्ण जतिको हुनु पर्दैन।

चालकलाई निम्न श्रेणीको व्यसाय हो भन्ने धारणा बोकेका हुन्छन् प्रायःले। तर पनि सबैले ड्राइभर साहब, अझ खलासीले त गुरूजी भनेर सम्मान दिन्छन्। कैयौँको ज्यान उसले आफ्नो हातमा लिएर हिँड्दछ। यसैमा पनि ऊ विशेष देखिन्छ। अर्को दृष्टिमा धेरैले उसलाई मदिरा सेवन गर्ने, गालीगलौज गर्ने, धैलामैला भनेर पनि हेला गरिरहेका हुन्छन्। यस्तो चरित्रलाई समातेर यी सामान्य कुराको सन्दर्भ नछोई कथाकारको तृतीय नेत्र भनूँ – एउटी अपाहिज केटीसँग प्रेम गरेर उसको जीवनमा फूल बर्साएको कथावस्तु समाजमा पस्केका छन्। सामजलाई संदेश छ कि ठूलाठूला विकलाङ्लाई उत्थान गर्ने संस्था नखोली पनि यस्ता असहायको जीवन सपार्न सकिन्छ। ‘बार्दलीको एउटा अनुहार’ कथामा चालकसँग माया बसाइदिन्छन् पाठकलाई  ‘त्यसपछि फुलेन गोदावरी’ का कथाकारले।

संसारमा मानिसलाई सबैभन्दा मन पर्ने चिज सम्मान हो। मान र सम्मानका लागि मान्छेले जीवनपर्यन्त कठोर परिश्रम गर्छ। कतिचोटि त राजनैनिक एवं आर्थिक प्रभावले सम्मान पाएको पनि हामीले सुनेका हुन्छौं। ‘मृगनयनी’ कथामा यस्तो लेखक पात्रको दर्शन छ जसले २००० युरोको पुरस्कार दिलाउने उपन्यास पुस्तकलाई च्यातेर फ्याँकिदिन्छन्। सम्मान  धरी लिन जाँदैनन्। कारण, नेत्रहीन पात्रमा लेखिएको उपन्यासमा लेखकले नेत्रहीन विद्यार्थीबाट जीवनको दर्शन ज्ञान पाउँछन्। नेत्रहीन हुने विद्यार्थीबाट पाएको उच्च विचार अनि मनलाई आरपार गरिदिने प्राञ्जलको इमानदार चरित्रले कथाको स्तरलाई सगरमाथासम्म पुर्याइदिएको छ। एउटा सामान्य लेखकको अतुलनीय व्यक्तित्वले नेत्रहीन समाजलाई कानमा गएर फुस्फुसाएको छ।

नदीमा डुबुल्की लाउँदा अईंअईं हुइन्छ। तर यो कथा संग्रहको डुबाइमा आनन्द आउँछ। ‘उपहार’ कथामा प्रवेश गर्दा मन प्रसन्न नभई रहन सक्दैन। टोलमा बस्ने छरछिमेकीको असामाजिक व्यवहारलाई एउटा टुकुर टुकुर हिँडने शिशुको अबोध क्रीडाले माया र अपनत्वको ढाँचा बनाइदिन्छ। यो वृतान्तले पाठक पनि भावविभोर हुन पुग्छ। त्यही टोलको बार्दलीमा बसेर यी सबै दृश्य नियालिरहेको जस्तो लाग्छ। शिक्षा मात्र केश फुलेको शिक्षकबाट पाइन्दैन । साना बच्चाहरूबाट पनि जीवनको मूल्यवान शिक्षा भेटिन्छ भन्ने महेश पौड्यालले वकालत गरेका छन्। बालजीवनको आडमा समाजलाई ठोस् ज्ञान दिने सामर्थ्य राख्छन् कथाकार। बच्चाहरूमा देवता बास गर्छन् भन्ने उखानलाई सार्थक पारेको छ यो कथाले।

समाजको कुना–काप्चा यहाँ बस्ने गरीब दुःखीको रोदनमा अनि सुखीको हाँसोमा कथा हुन्छ, प्रेरणा हुन्छ, इच्छा हुन्छ, जीवन शैली हुन्छ। यिनीहरूको आवाजलाई बुझ्न सकिएन भने जीवनको सत्यमा पुगिँदैन । साधु भएर जङ्गलमा तप गर्नु भन्दा असहायको सेवा गर्नु नै परम धर्म हो। एउटा शिक्षक सह साहित्यकारलाई घर छोडेका सन्यासीले सहजै ज्ञान दिन्छन्। ‘भिक्षा माग्ने सबै ढोंगी बाबा हुँदैनन् यो समाजमा’ कथाकार चिच्याएका छन्  ‘आवाजहरू’ कथामा। समाजका ती कैयन् आवाजहरूलाई छपनीले जाँड छाने जसरी महेश पौड्यालले अध्यात्म घोलेर छानेका छन्। बाल साहित्यकार महेश पौड्यालको छपनी एक्दम संवेदनशील एवं प्राकृतिक छ। यो भावनात्मक छपनीले छानेको कथाले रमझमको आनन्द दिन्छ।

‘अभिन्यु’ र  ‘बगर’ कथामा दुई साधरण सैनिकको चरित्र पढेर पाठकले आफ्नो हत्केलामा राखेर पात्रलाई चुम्न बाध्य हुनेछन्। अनुहारमा बमको छर्रा लागेर आफ्नै परिवार अनि समाजमा उपहेलित भएको पात्रले कथा पढ्ने अनि यो कथा सुन्नेलाई मनमा तुसारो पारिदिन्छ।  ‘अग्ले’ पात्रलाई वाह! वाह! भन्न बारम्बार मन लाग्छ। कुन्नि कुन नदीले बगाएर बगरमा राखिदिएको त्यो बलिष्ठ पात्रलाई कथाकारले टिपेरले ल्याएछन्।  ‘पक्कै पनि कथाकार झुप्रो घरदेखि आलिसान् बङ्लासम्म यात्रा गरेको हुनु पर्छ’ यो मैले हैन कथाकारप्रति अपरिचति हुने पाठकले भन्ने नै छन्। जति कथा पढ्दै जाइन्छ कथाकारको आन्तरिक हृदयाबाट परिचित भइँदै जाइन्छ।

कल्पनामा बालक–बालिकालाई लिएर कल्पिँदा बनिएको चलचित्रमा शान्ति नै शान्ति देखिन्छ। केटाकेटी खेलेको देखेर कोही पनि हेर्ने मान्छे प्रसन्न हुन्छ। दर्शकको ओठमा, हृदयमा मुस्कान छाउँछ। खेल्दैगरेका नानीमध्ये गएर भनी हेर्नुस्  ‘जसले नाक पहिले एकअर्काको छुन्छ त्यो नै प्रथम विजयी हुन्छ!’ सिकाई सक्दा त्यहाँ कलह र झगडाले रूप लिन्छ। खेलमा विघ्न उत्पन्न हुन्छ। अशान्ति छाउँछ।  ‘दुर्ग’ कथाले यही आसय बोकेर पाठकको मनमा अद्भूत चेतना जगाइदिन्छ। बच्चाहरूले प्रेरणाको सागर बोकेका हुन्छन् भन्ने मनमा शिक्षाको दुर्ग निर्माण गरिदिन्छ।

मन्त्रीको कथा लेख्न छोडेर मन्त्रीकी आमाको कथा लेख्न अघि सरेका छन् कथाकार  ‘मन्दिर’ कथामा। आमाको मनमन्दिर बुझ्ने सन्तान आजभोलि पातलिँदै गए भन्ने कथाको राम्रो सन्देश छ।  ‘डबल पेन्सन’ कथामा एउटा सामान्य शिक्षकको दूरदर्शी एवं मौलिक सोचलाई लिएर ठूलो सन्देश ठोकुवा गरेर भनिएको छ।

‘मूसलधारतिर हेलिएको व्यापरी भने मन्दाकिनी उर्लंदो भेलमा हरायो। प्रवेशद्वारमा सुरक्षाकर्मीले राखिएको उसको माला, घडी, क्यामेरा र ल्यापटोपको खबर कुनै अखबारमा पनि छापिएन।’ यी हरफ पढ्दा ‘‘दुई मृत्यु’ कथाको मुटु फेटिन्छ। जीवनको सार भेटिन्छ। अंतिम सास बाच्दा पनि अरूको सेवा गर्नु। धन त क्षणमात्रका लागि हो। याद राखिने त नेक कृत्य हो। कति अमूल्य संदेश दिएको छ कथाले।

विकास आयो, शिक्षा आयो, विज्ञान आयो। परिणाम, मान्छे गाउँदेखि सहरतिर लाग्यो। मान्छे डाँडादेखि बिजुली भएको जीवनतिर ओरालो लाग्यो। वर्तमान समाजकमा यही सत्यता छ। यो कटुसत्यताबाट  ‘ओरालो’ अनि  ‘चैतारीको भेट’ कथामा परिचित भइन्छ। सहर पसे पनि, उतै बसे पनि गाउँघर आउँदा जीवनमा चाहेको सर्वोच्च आनन्द र सच्चाइ यहीँ पाइन्छ भन्ने पनि कथामा ओराली लागेका पात्रले गाउँतिर उकाली लागेपछि पाएको खुसीले दर्शाइदिन्छ। चैतारीमा बसेर कथाकारलाई तब बुढीऔंलो ढड्याउन मन लाग्छ।

‘राहत’ कथामा पाठको मनलाई राहत पुर्याउँदै ‘‘त्यसपछि फेरि निदाइन् बहिनी’ कथाले मन चिस्याइदिन्छ। भारत–पाकिस्तान विभाजत, कश्मिरी पण्डित लखेटेको, भूटान शरणार्थीमाथि लेखिएका कथा सबैले पढेको छ, चलचित्रसम्म हेरिएको छ। यस्तै घटनाको दृश्यमा केटाकेटीले कस्तो कष्ट र वेदना पाएका थिए सायद कुनै साहित्यकारको दृष्टि परको थिएन होला ! तर महेश पौड्यालको यो कथामा पढ्दा पाइयो उपेक्षा गरिने पात्रको मन छुने वेदना अनि आँखा चिस्याउने घटना।

‘एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको
मृगलाई मैले ताकेको होनइ मायालाई डाकेको।’

नेपालीमा यो गीत नै छ। यो गीतको सन्दर्भ चैं कथाकारपट्टि तेर्साएको मैले।  ‘अपरिचत अनुहार’ कथामा कथाकार चुर्लुम्म डुबुको जस्तो लाग्छ। पढ्दा–पढ्दै पाठकलाई पनि चुर्लुम्म डुबाइदिन्छन् कथाकारले। हिन्दीमा फिल्ममा एउटा डायलक छ नि– ‘हम तो डूबे हैं सनम तुम को भी ले डूबेंगे।’ कथाको आड लिएर आफ्नै वेदनाका आँसु नदीमा बगाएको जस्तो महसुस लाग्छ। आफूले भोगेका भावना लेख्न सहज हुन्छ। सूक्ष्म भावना पनि नछुटी लेखिन्छ। पाठकले कथाकारको चेतनाको सूक्ष्मतालाई पढ्दापढ्दै च्याप्प समात्न सक्छन्। कथाको एउटा अंश यहाँ राखेँ—  ‘बाबू, मलाई नचिनेजस्तो किन गर्छौ? यी, हेर न मेरा हात! म यिनै हातले बोक्थेँ नि तिमीलाई ! खै, कता बिजाउँथ्यो, कता दुख्थ्यो, तिमी रोइमात्रै रहन्थ्यौ। तिमीलाई पानी पिलाउने यी हात, चिनेनौ? तिमीले पानी पिउँदा किलकिलेबाट पानी भित्र गएको पूरै देखिन्थ्यो। मलाई झलझली सम्झना छ।’ कथामा यी पंक्ति पढेर कसको मन गाँठो नपर्ला? महेश पौड्याल यहाँ पिता कै रूप लिए राजा दशरथ समान विलाप गरेको आभाष लाग्छ। पुत्र वियोगमा। कठै! अनायसै भन्न मन जान्छ कथाको पिताप्रति।

समाजका आवाज र सामान्य मानिसका नायकत्व भेला पारेर यात्रामा निस्किएका कथाकार पर्यावरण प्रेमी पनि देखिन्छन्। यसप्रति जागरूक छन्। पर्यावरण हनन भएर समस्त विश्व चिन्तमग्न छ। अन्तराष्ट्रिय स्तरमा मिटिंग माथि मिटिंग भइराखेका छन्। तर विकासको यात्रामा मातिएको मान्छेले पर्यावरणलाई क्षत विक्षत गरेको अवस्था ‘बुढो रुख र जुरेली’ कथामा पढिन्छ। पर्यावरण जारुकता विषय प्रायः निबन्ध र आलेखमा भेटिन्छ तर महेश पौड्यालले कथामा चिनी घोले समान रोचक पाराले पाठकमा पस्किएका छन्।

अठार कथाको भावना नदीमा डुब्दा झण्डै अईंअईं होइन्छ।

सप्पै कथा रसले भरिएका छन्। माहुरीले चाकमा चुनी चुनी फुलबाट रख भरेको समान कथा पनि यसरी नै समाजबाट चुनीचुनी लेखिएका छन् जुन् चाहिँ मिठा छन्, रसिला छन्, पोष्ठिक छन् अनि सबै भन्दा धेरै प्रेरणादायीयुक्त औषधी छन्। अर्को कुरा कथाका लागि पात्र छानेको पनि मदानीले दही मथेर घिउ निकाले जस्तो प्रतित हुन्छ। साना पात्रमा भरपूर ज्ञानका पोका। ‘साना साना खुसीमा उत्सव गर्नुपर्छ। दसैं तिहार किन कुर्न?! आशय राख्दै साना साना मान्छेमा पनि नायकत्व लुकेको हुन्छ, उनीहरूबाट सिकौं भन्ने प्रेरणा दिन पनि कथाकारले प्रयास गरेका हुन् र सफल भएका छन्।

‘कृष्ण भगवान प्रेमका प्रतीक हुन्। धर्मका रक्षक हुन्। कुरुक्षेत्रमा गीताको संदेश दिने नारायण हुन्।’ सकरात्म टिप्पणी राख्ने हुन्छन् भने ‘कृष्ण माखन चोर थिए। कैयन् गोपीका प्रेमी थिए।’ भन्नेहरू पनि पाइन्छ। भगवानसम्म नकरात्मक पक्षको टिप्पणीबाट बाच्दैनन्। परिपूर्ण कोही छैन यो सृष्टिमा।

समालोचक महेश पौड्याल पनि समीक्षाको सिद्धान्त अनि धर्म सिकाइ रहेका हुन्छन्। स्वयं पनि प्रख्यात् समालोचक हुन्। धर्म पालन गर्नामा बाध्यता हुँदा कथामा अर्को पाटो खोज्दा खोज्दा गरेर केही गुनासो सामान्य रूपमा राख्न अघि सरें।

कथा संग्रहमा सबै कथाका स्तर उच्च छन् भने दुई तीन कथाले उच्चता छुन नसकेर होला पाठकको मनलाई हल्लाउन सक्ने छैनन्। ‘बार्दालीको एउटा अनुहार’ कथालाई जति प्रशंसा गरे पनि थोरै हुन्छ तर कथाको आरम्भमा आउने चालक पात्र कथाको चार भागमा एक भाग बसेर हराउँछ। उसको पात्र लुते भएको अनि अन्त्इमा उसको समाप्ति गर्दा दह्रिलो नभएको सजक पाठले आभास पाउनेछन्। कथा पढ्दै जाँदा  रस बढ्दै जान्छा, बढ्दै जान्छ अनि थाह नपाई कुनैकुनै कथा त स्वात्त सकिन्छन्। कथाको अन्तममा दिने संदेशमूलक केही हरफले मात्र यसमा रोचकको बर्को ओढिदिन्छ। कथाकार स्वयम् नै भन्छन्  ‘कथा सबै सामान्य पात्रका सामान्य वर्गमा घटेका सामान्य मान्छेलाई पनि मन पर्ने कथा लेख्ने प्रयास हो।’ सामान्य पात्रको पछि लागेर कतै सामान्य गाउँ–ठाउँ नदेखेको, यस्तो परिवेश मन नपर्ने, प्रतिष्ठित पात्रका कथा रूचाउने पाठले नरूचाउने हुन् कि? मनोविज्ञान एवं कल्पना शक्ति उच्च भएकाले मात्र  ‘अपरिचित अनुहार’ कथा संग्रहको शीर्षक बोक्ने कथा बुझ्न सक्षम अनि अन्य सामान्य पाठकले बुझ्न गाह्रो भयो  पनि भन्न सक्ने छन्।

करोनाकालले जीवनको मूल्य बुझाएको समयमा  ‘अपरिचित अनुहार’ कथा सङ्ग्रह अवलोकन गर्न बस्नुहोस् सामान्य मान्छेले गरेको समर्पण, त्याग र नायकत्वबाट परिचति हुनुहुनेछ।’

पुस्तकः अपरिचित अनुहार
विधाः कथा
प्रकाशकः शिखा बुक्स
मूल्यः रू २७५

(समीक्षक ‘रोहित’ भारतको मणिपुर प्रान्तका स्रष्टा हुन् । उनको कवितासङ्ग्रह ‘मन बल्झिन्छ’ प्रकाशित छ ।)

Facebook Comments Box
80%
Awesome
  • Design