कविता : यात्रा:एक कविताको खोजी

२०७८ बैशाख १२, आईतवार ०७:१६

म हिँड्दै थिएँ आफ्नो गन्तव्यमा,
एउटा यस्तो
कविता पनि देखियो
इँटाहरूको त्यो पर्खालमा कोरिएको-
“सुरक्षित चेली,शिक्षित चेली”
“सुरक्षित देश,शिक्षित देश”
सायद त्यो निर्जीव पर्खालमा कोरिएका
ती निर्जीव अक्षरहरूले बुझाउन खोजेको कुरा
मेरो देशको कानुनले कहिले बुझेन!

अझ पर पुग्छु,
अझ अर्को
यस्तो कविता पनि देखियो,
इँटाहरूको अर्को पर्खालमा कोरिएको-
“भ्रष्टाचारको अन्त्य देशको समृद्धि”
सायद त्यो निर्जीव पर्खालमा कोरिएका
ती निर्जीव अक्षरहरूले बुझेको कुरा
मेरा देशका नेताहरूले कहिले बुझ्न सकेनन्!

अझ पर हिँड्छु
अर्को यस्तो कविता पनि देख्छु,
इँटाहरूको अर्को पर्खालमा कोरिएको-
“कृषिक्रान्ति पछि कोही भोको रहँदैन”
सायद त्यो पर्खालमा कोरिएका
ती निर्जीव अक्षरहरूले बुझेको कुराले
कहिले सोधेनन् ती किसानहरूलाई कि-
“उसलाई भोक कति छ”!

भो अब खोज्दिन ती कविताहरु
बरु आफै लेख्छु एक कविता
यात्रा:एक असल कविताको खोजी,
यात्रा:एक असल चरित्रको खोजी!

125 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal