एकजुट भएर अघि बढ्दा मुलुकको हित हुन्छ : मुख्यमन्त्री शाक्य

२०७८ आश्विन १६, शनिबार १९:३६

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनलाई सवल र सुदृढ बनाउन विधान महाधिवेशनले सहयोग गर्ने बताउनुभएको छ ।

गोदावरीको शुक्रबारदेखि चलिरहेको तीनदिने नेकप (एमाले)को प्रथम विधान महाधिवेशनमा उहाँले गणतन्त्र प्राप्त गर्न आफूहरुले धेरै रगत बगाएको स्मरण गर्दै त्यसैले सबै मिलेर एकजुट भएर अघि बढ्दा मुलुकको हित हुने भनाइ राख्नुभयो । पार्टीमा रहेका नेताले मन फराकिलो बनाएर कमिटी बलियो बनाउन आवश्यक हुँदा त्यसतर्फ जोड दिइने शाक्यले बताउनुभयो ।

सिरहा जिल्ला अर्नामा गाउँपालिका–१ बाट महाधिवेशनमा उपस्थित भएका इजराइल अन्सारीले स्थानीय तहका नेता तथा कार्यकर्ताको दुःख माथिल्लो तहका नेताले नबुझी अघि बढेमा दुर्घटना भोग्नुपर्ने बताउनुभयो । कास्की जिल्ला वडा नं ८ का पार्टी सदस्य कृष्णकुमारी गुरुङले पार्टी फुट्नुको साटो जुटेर अघि बढ्दा उपलब्धि हासिल हुने मत व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका–९ का केन्द्रीय प्रतिनिधि परिषद् सदस्य विष्णुहरि तिमिल्सिनाले महाधिवेशनले पार्टी सङ्गठनलाई सही ढङ्गले सम्हाल्ने उपयुक्त विधि सिकाउने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य सावित्री रानाले केही समय पहिला भएका कमीकमजोरीलाई सच्याएमा पुनः एक नम्बरको पार्टी बन्ने भनाइ राख्नुभयो । स्वास्थ्य सेवा विभागले महाधिवेशनमा रक्तचाप अनि महुमेह तथा कोभिडको एन्टिजेन्टका साथै दन्त परीक्षणको पनि सेवा दिइरहेको छ । महाधिवेशनले गोदावरी क्षेत्रमा चहलपहल बढाएको बताइएको छ ।

118 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal