के मात्रै छैन र सानु शर्माको यो विचित्र कथाकारितामा ?

प्रतिक ढकाल

29

“एकादेशमा” र यो कथासंग्रहकी रचयिता हुन्— कथाकार सानु शर्मा । सांग्रिला बुक्सले २०७५ सालमा बजारमा ल्याएको यो संग्रहमा जम्मा २१ वटा मन छुने कथाहरू रहेका छन् । २९३ पृष्ठको आयतनमा फैलिएको यो कथासंग्रहमा रहेका अधिकांश कथाले पाठकलाई विद्युतीय झट्का लगाउन सक्षम छन् । बडो अनौठो ढंगले बुनिएका छन् सबै कथाहरू र सबै कथाहरू नारीमनकै सेरोफेरोमा घुमेका पाइन्छन् । यो नारी मनोविज्ञानकै एक सशक्त र विष्फोटक विरेचन पनि हो तर कुनै कथामा पनि सस्तो राजनीतिक नारा लगाइएको छैन र प्रत्येक कथाको समाप्तिपछि झनन्न झन्केको मनसँगै पाठकलाई केही क्षण घोत्लिन बाध्य बनाउन सक्ने शक्ति पनि रहेको देखिन्छ ।

कथाकारले चित्रण गरेको समाज र हामीले वसोवास गरिरहेको समाज उही नै हो । तर पनि हामी किन देख्न सक्तैनौँ नारीमनभित्र निरन्तर चलिरहेको यो हुँरी–बतास र पाइलैपिच्छे भेटिने यी रौँ ठड्याउने खालका कथाहरू ? यस संग्रहका प्रत्येक कथामा अतुलनीय संघर्ष छ, रगत छ, आँसु छ, पसिना छ, अनपेक्षित परिणामहरू छन् र हाम्रै समाजका नारी पात्रहरूले भोगेका वा भोग्न अभीशप्त बनाइएका अकल्पनीय व्यथाका भुङ्ग्राहरू छन् । कथाभित्रै सासू–ससुरा छन्, नन्द–आमाजू छन्, देवर–जेठाजु छन्, प्रेमी–प्रेमिका छन् र लोग्ने–स्वास्नीहरू पनि छन् । इतरका सम्बन्धहरू पनि छन् र भितरका सम्बन्धहरू पनि छन् । वाह्य आँखाले हेर्दा ती सबै सँगसँगै रहेका देखिन्छन् । एउटै धुरीमुनि वास बसेका पनि देखिन्छन् । तर तिनीहरूको मनोजगत् अर्कै अर्कै लोकमा विचरण गरिरहेको देख्न पाइन्छ । उही “सुम्निमा” का पुलोमा र सोमदत्तजस्तै । एउटै सिरक ओढ्दैमा कहाँ भइने रहेछ र दम्पती ? बर्थडेको केक काट्दैमा कहाँ अभिव्यक्तिने रहेछ र सक्कली माया ? लोग्नेले छोडेपछि ससुराले साथ दिएको कथा पनि यहीं छ । सज्जन पुरुष पात्रलाई महिला पात्रले चोर बनाएको कथा पनि यहीँ छ । पाइलैपिच्छे छन् यौनपिपासु र छोरीमान्छेका लागि आफ्नै घरसमेत सुरक्षित नरहेको व्यवहार पनि यहीँ छ । यो समाजले कस्ता कस्ता विषयमा एउटी महिलालाई बात लगाउन सक्छ र वास्तवमै समाजका महिला र पुरुष पात्रहरू चाहिँ कस्ता कस्ता छन् भन्ने कुराको त एउटा बृहत् ‘कोश’ नै रहेछ यो पुस्तक । “छोरो पाए खसी र छोरी पाए फर्सी” भन्दै उफ्रेका दम्पती र तिनको करुण अन्त्य पनि यहीँ छ ।

के मात्रै छैन र सानु शर्माको यो विचित्र कथाकारितामा ?

त्यही भएर हो मैले सुरुमै चर्चा गरेको— पुस्तकको आवरण र नामका कारणले पाठकमा जति आकर्षण पैदा गर्नुपर्थ्यो त्यति गर्न नसकेको प्रस्टै देखियो । यो त तीन करोड नै नेपालीले पढ्नु पर्ने पुस्तक रहेछ तर आवरणले तान्नै सकेनछ । पुस्तकको नामले पनि “दन्त्यकथा संग्रह” पो हो कि जस्तो भान पारेको हुनुपर्छ । नाम र बोक्रो दुवैले पाठकको नजर तान्न नसकेपछि यो किताबमाथि अन्याय त हुने नै भयो । नत्र आधा मुलुक ढाकेका डेढ करोड नेपाली महिलाले प्रत्येक पाइलामा आफैँलाई भेट्टाउने यो पुस्तकको हालत यस्तै हुन्थ्यो होला त ? समाज र सम्बन्धको यति मिहिन व्याख्या नेपालीमा लेखिएको अरू कुन किताबमा छ ? उहिले नै कुनै समयमा तेराखले लेख्नुभएको “आफ्नो लोग्ने आफ्नै हात” भन्ने ज्यादै उपयोगी पुस्तक पढेको सम्झना छ मलाई । तर त्यसमा पुरुषको पक्षबाट लेखिएको थियो । यसमा भने महिला र पुरुष दुवैको पात्रतामा आधारित भएर लेखिएको छ । म त समाजशास्त्रको एउटा सिकारू विद्यार्थी मात्रै हुँ । मैले आजसम्म पढेका आफ्नै विधाका किताबमा पनि लिन बेनेट नामकी एक पश्चिमा लेखिकाले लेखेको Dangerous wives and sacred sisters बाहेक यति कुरुप कथानकको यति सुन्दर चित्रण अहिलेसम्म देखेकै थिएन । तर यति महत्वपूर्ण कृति भएर पनि यसको दोस्रो संस्करण बजारमा आएको छैन क्यारे । यसको मतलब हो, पुग्नु पर्ने पाठकका हातहातमा यो किताब अझै पुगेकै छैन । यसले कथाकारलाई होइन, नेपाली समाजलाई नै नोक्सानी भइरहेको छ । तपाई आफ्नै मनको, आफ्नै घरको, आफ्नै आफन्तहरूको, आफ्नै गाउँको, आफ्नै टोलको, आफ्नै जीवनको, आफ्नै प्रेमको वा आफ्नै देखिएका वा लुकेका सम्बन्धहरूको कथा पढिरहनु भएको छैन भने त्यसले तपाईलाई नै घाटा भइरहेको छ— कथाकारलाई होइन । गाउँमा स्कूल खुलेको छ, तर आफ्ना नानीहरूलाई तपाईं आफैँ भर्ना गरिदिनुहुन्न भने अरू कस्को के लाग्छ र ? कथाकारलाई त लेख्नु थियो लेखिदिइन्, एउटा ऐना ल्याएर तपाईंका अगाडि राखिदिनु थियो, राखिदिइन् । अब तपाई आफैँ त्यो ऐनामा आफ्नो अनुहार हेर्नुहुन्न र मुखमा दलिएको मोसो बोकेरै हिँडिरहनु हुन्छ भने त्यसमा कथाकारको के दोष ?
हो, सांग्रिला बुक्सले यो किताबको प्रबर्द्धनका लागि केही अलग गर्नुपर्थ्यो किनकि यो छुट्टै महत्वको वस्तु छ है भनेर बजारलाई सूचना दिनुको महत्व नै अर्कै हुन्थ्यो । मणि शर्माजस्ता बाठा बजार विश्लेषक चुकेकै त हैनन् होला ।

कथा पढेर सनन्न मात्र होइन, झनन्नै भइन्छ । कथाकै नशा लाग्छ पाठकलाई । गाँजा लागेझैँ झुम्म बनाउँछन् कथाले नै । कथा पढेको हो कि कुनै नशालु पदार्थको सेवन गरिरहेँछु भनेर छुट्याउनै मुश्किल परेझैँ लाग्छ आफैँलाई । किनकि यो संग्रहका कथामा सबैथोक छ । आधा धर्ती ढाकेका महिलाको अन्तर्द्वन्द्व र अन्तर्दृष्टि, आर्तनाद र आत्मबल, इच्छा र इशारा, उद्वेग र उत्कण्ठा, उच्छ्वास र एकालाप, कर्तव्यपारायणता र कमनीयता, दृढता र दूरदर्शिता, समर्पण र प्राप्ति, प्रज्ञा र प्रगल्भता, शंका र शक्ति अनि एकता र भिन्नता सबै पक्षहरू नै कथामा छताछुल्ल भएर पोखिएको देख्न पाइन्छ । लाग्छ, हामीले कहिल्यै तरी नसकिने समुद्रको नाम हो— नारी । कहिल्यै पढी नसकिने किताबको नाम हो— नारी । र, कहिल्यै बुझी नसकिने रहस्य र भवसागरको नाम हो— नारी । तर अन्य महिलावादी आन्दोलनमाझैँ नारीलाई उचालिएको मात्र छैन यस कृतिमा । नारीका विद्रुप पक्षको पनि उत्तिकै सशक्त चित्रण गरिएको छ कथामा । कथा पढ्दैजाँदा बीच बीचमा बिसाएर सोचेका बेला लाग्छ, कथाकार सानु शर्मा पुरुष र महिलाका बीचमा कायम रहेका र अब कायम हुन सक्ने सबै खालका र वहुआयामिक सम्बन्धहरूका बारेमा ‘डाक्टर’को उपाधि पाएकी एक मनोचिकित्सक हुन् जो सम्बन्धको सबै खालका एक्सरे गर्न समेत सिपालु छन् । उनी हाम्रा सम्बन्धरुपी खेलकी रेफ्री पनि हुन् जसलाई कसैको पक्ष लिनु जरूरी नै छैन । उनी आँखा खोलेर मात्र होइन, चिम्लेर पनि लोग्नेमान्छे र स्वास्नी मान्छेका सम्बन्धका सबै आयामहरूलाई देख्न सक्छिन्। हो, यी कथाहरू पढ्दा यस्तै लाग्छ । तर यथार्थमा उनी कुन पेशामा आबद्ध छन् र यो धर्तीको कुन कुनामा बसेर नेपाली समाजलाई चित्रण गरिरहेकी छन् भन्ने कुरो चाहिँ यो पंक्तिकारलाई थाहै छैन । हाम्रो प्रत्यक्ष भेटघाट वा अप्रत्यक्ष चिनाजानी पनि छैन । सुरुमा यो किताब पढिरहेका बेला त कथाकार महिला हुन् कि पुरुष भन्ने पनि थाहा थिएन किनकि किताबको पछाडिपट्टि पनि स्रष्टाको फोटो छापिएको छैन । पछि फेसबुकले सामान्य परिचय गराएपछि कथाकार महिला भएको थाहा पाएँ ।

र, सुन्दर सिर्जना पढ्नका लागि स्रष्टाको लिङ्ग पहिचान हुनु जरूरी रहेनछ भन्ने शिक्षा समेत पाएँ ।
सानु शर्माको कथाकारिता घर परिवारभित्रैबाट उठ्छ, प्राय: ग्राम्य परिवेशमा फैलिन्छ र सम्बन्धको अनौठो उचाइमा पुगेर विघटित हुन्छ । कथाका शीर्षकका रूपमा रहेका शब्दहरू जस्तै भाउजू, चोट, छोरी, पारुल, सन्तान, साथ, इनाम, परिस्थिति, सम्बन्ध, जवाफ, प्रारब्ध, म, गुनासो र उऋणजस्ता एकशब्दीय नामहरूबाट कथानकका बारेमा सुरुमा कुनै कल्पनै गर्न सकिन्नँ । त्यस्तै बाको चश्मा, मर्यादाको साथी, अक्षरको अवसान, एक रात, सालीको झुम्काजस्ता दुई शब्दीय शीर्षकले पनि कथानकबारे कुनै संकेत नै गर्दैनन् पाठकलाई। त्यसैले सामान्य विषयवस्तुलाई पनि पूरै रहस्यमय बनाएर लुकाउन सक्नु र त्यसैलाई कथाको रूपमा मात्र फुत्त प्रस्तुत गरिदिन सक्नु कथाकारको एकदमै सबल पक्ष हो भन्न हिच्किचाउनै पर्दैन ।

यो कथासंग्रहको उचाइ मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’, महेश विक्रम शाहको ‘छापामारको छोरो’,  महेश पौड्यालको  ‘अपरिचित अनुहार’ र नयनराज पाण्डेको “निदाएँ जगदम्बा” कै हाराहारीमा छ । एउटा संयोग नै भनूँ— धन्न मैले पनि एक पोकै किताब किनेर ल्याउने क्रममा यसलाई पनि ल्याएँछु र पढेँछु । पढेपछि लाग्यो— मैले धेरै कुरा सिक्न पाएँ । नपढेको भए धेरै कुरामा चुक्ने रहेँछु म । सधै वस्त्र र आभूषणमा सिङ्गारिएर हिँडिरहेका नेपाली चेलीहरू आखिर कस्तो मन बोकेर बाँचिरहेका हुने रहेछन् भनेर त यही किताबले देखायो नि मलाई पनि ! यो किताब पढेर थोरै नै सही मैले पनि नेपाली नारीहरूको भित्री भागलाई चिहाउन पाएँ । मैले कल्पनै नगरेको एउटा मानस खोलियो र अलिकति भए पनि आधा धर्तीलाई चिन्ने मौका पाएँ । ( म त बिर्सेर पनि “आधा आकाश” भन्दिनँ, सधैँ “आधा धर्ती” मात्र भन्ने गरेको छु ।)

Facebook Comments Box