लताको नेपाली कनेक्शन

प्रकाश सायमी

35

लताले पहिलो पटक सुमनाञ्जली फिल्मस्को निम्ति जनरल नरशम्सेरको आग्रहमा माइतीघर का निम्ति टाइटल गीत गाएकी थिइन् , जयदेव यस फिल्मका संगीतकार थिए ।

माइतीघर पछि उनले हेमन्तकुमार कालिदास मुखर्जीको संगीतमा मविवी शाहको शब्दमा दोस्रो नेपाली गीत गाइन् ,
आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
हातमा हात परेको वेला म भन्न सक्दिनँ …

माइतीघर पछि उनले प्रकाश थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ मेरो देश ‘का निम्ति अम्बर गुरुङको संगीतमा गाउने तय भयो , उनी गीत रेकर्डिँगको मुहूर्तमा पनि आइन् तर गीत रेकर्ड हुन सकेन । ‘ मेरो देश ‘मा लता बाहेक फत्तेमान राजभन्डारी , निर्मला श्रेष्ठका स्वर पनि समाहित हुने क्रममा थियो ।

बम्बईमा लामो समयदेखि संघर्ष गरिरहेका रञ्जीत गजमेरको संगीतमा जीतेन्द्र वर्देवाको शब्दमा ‘ मेरो आशले मेरो भाग्यले पर झन पर छोडिरहेछ ‘ …गाउने तय भएको थियो , धर्मा फिल्म्स्बाट निर्माण गर्न लागेको पिरती फिल्मको यो गीत पनि उनले गाइनन् ।

लताले आफ्नो इच्छाले गायक नारायणगोपालसित युगल गीत गाउने रहर संगीत संयोजक मनोहरि सिंह मार्फत् प्रस्ताव गरेकी थिइन् तर नारायणगोपालले हिन्दी गीत गाउन अस्वीकार गरेपछि यो सत्कार्य पनि रोकियो । विसं २०५९ सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाहको शब्दमा जीवन प्रधानको संगीतमा एउटा रेकर्ड हुने कुरा व्यापक हल्लामा आएपनि साकार हुन सकेन ।

लताको गायनको यात्रा सुस्त भइसकेपछि र शारीरिक थकावट देखिएपछि गाएको एउटा नेपाली गीतले खास्सै इतिहास बनाउन सकेन ।

बलिऊड फिल्ममा संगीत गर्ने एक मात्र नेपाली संगीतकार भोलानाथ श्रेष्ठको संगीतमा लताले ‘ ये बस्ति ये लोग ‘ मा ‘ दिल जलेगा तो जमाने को उजाले होगा ‘ गाएकी थिइन् , प्रसिद्ध गायिका पूर्णीमा (सुषमा श्रेष्ठ) का पिता भोला श्रेष्ठ ललितपुर तजाःफल्चाका निवासी हुन् ।

गैर फिल्मी यात्रा
लता ले फिल्ममा बाहेक गैर फिल्मी गीत पनि गाएकी छिन् , त्यसमध्ये मीरा भजन, चला बाही देश, लता सिँग्स् गालिब, ध्यानेश्वर मौली , कोली गीति , गणपति आरती, अभँग तुक्याचे , शिव कल्याण राजा, राम श्याम गुणगान, सज्दा , श्रद्धाञ्जली अनि सादगी मा पनि गाएकी छिन् ।

गजल गायक जगजीत सिंहको संगीतमा गाएको सज्दा र मयूरेशको संगीतमा गाएको सादगी उनका लोकप्रिय अल्बम हुन्।

लताले आफैँ पनि संगीत गरेकी छिन् , संगीतकारको रुपमा उनले आफ्नो नाउँ आनन्दघना राखेकी छिन् । संगीतकार आनन्दघनालाई घरमा उनका बाबुले दिएको नाउँ हृदया हो ।

लतालाई गिनीज बुक अफ वल्र्ड रेकर्डस् ले सर्वाधिक गीत गाउने गायिका भनेर घोषणा गरेपछि त्यसमा ठूलो विवाद र आपत्ति जनाइएको थियो तर पछि लता भन्दा धेरै गीत गाउने गायिकामा आशा भोँसलेको नाम अगाडि आएपछि गिनीज बुक अफ वल्र्ड रेकर्डस् त्यसमा भूल सुधार गर्नु परेको थियो ।

गायिका लताको सबैभन्दा मनपर्ने राग हंसध्वनि हो , उनको जीवनी लेख्ने राजू भारतनले आफ्नो नयाँ घर बनाएर घरको नाम हँसध्वनि राखेर लताको जीवनी लेखे , ‘लता मंगेशकर : अ बायोग्राफी’ ( सन् १९९५ ) ।

लताको वारेमा सर्वाधिक मिहेनत गरेर लेखिएको पुस्तकमा सुमन चौरसियाको ‘लता समग्र’ , डा मन्दार भी बिच्छुको ‘लता भ्वाइस अफ द गोल्डेन इरा’ अनि यतीन्द्र मिश्रको ‘लता सुर -गाथा’ चर्चित छन् ।

लताको धेरै कार्यक्रममा उद्घोषक बनेर यात्रा गरेका हरिश भिमानीले पनि उनको जीवनी लेखेका छन् ।
धेरै कुरा लेखिएर पनि धेरै कुरा नलेखिएकी एक पात्रा हुन् लता ।
जनमदिनको धेरै धेरै शुभकामना …

Facebook Comments Box