कविता : मान्छे

२०७८ बैशाख ११, शनिबार ०६:५६

बादलुको माथि माथि

वायुपङ्खी घोडाजस्तै

तल कहिल्यै झर्नु हुन्न

भन्दै भन्दै उड्दै थियो

को हो भनी हेरेको त

त्यो त एउटा मान्छे थियो ।।

 

शुरो बाठो जस्तै गरी

अघिअघि हिंड्दै थियो

एकक्षण पछि चौबाटोमा

त्यसैलाई भेटियो

घर फर्कने बाटो बिराइ

ज्योतिषसँग सोध्दै थियो

को हो भनी हेरेको त

त्यो त एउटा मान्छे थियो ।।

 

एउटा दानवीर बोल्दै थियो

लोभी नहोऊ भन्दै थियो

मेरै गोजी छाम्दै थियो

को हो भनी हेरेको त

त्यो त एउटा मान्छे थियो ।।

 

मूर्ति सामु घोप्टो परि

एउटा भक्त भन्दै थियो

प्रभु मलाई सँगै राख

यही मन्त्र जप्दै थियो

एक क्षण पछि अँध्यारोमा

एउटा छाया भाग्दै थियो

पछि पछि पुलिस थियो

पुलिस पछि म थिएँ

को हो भनी हेरेको त

त्यो त एउटा मान्छे थियो ।।

 

माथि जान्छु भन्दै थियो

हिमाल भनी चढ्दै थियो

एक क्षण पछि घुम्दै जाँदा

डेथ भ्यालीमा भेटियो

को को भनी हेरेको त

त्यो त एउटा मान्छे थियो ।।

 

माया मोह जिन्दगीको

कमजोर जालो भन्दै थियो

त्यही जालोमा एउटा जन्तु

छट्पट- छट्पट गर्दै थियो

को हो भनी हेरेको त

त्यो त एउटा मान्छे थियो ।।।।

120 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal