‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा

२०७८ भाद्र २१, सोमबार २०:२२

सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद्को आज भएको बैठकले कोइरालाको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । नेपालको लोकतन्त्र स्थापनाका लागि आजीवन र अनवरत सङ्घर्षरत् प्रजातान्त्रिक योद्धा स्व कोइरालाका नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बिपी कोइराला नेपाली राजनीति र साहित्यिक क्षेत्रमा चर्चित नाम हो । उहाँ नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्छ । विसं १९७१ भदौ २४ मा भारतको बनारसमा जन्मनुभएका स्व कोइरालाले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी विसं २०१६ सालमा नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका उहाँलाई नेपालका सबैजसो नेताले राजनीतिक गुरुका रूपमा चित्रण गर्ने गरेका छन् । नेपाली राजनीति तथा साहित्यमा उल्लेख्य योगदान गर्नुभएको कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

115 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal