कविता : आमा

२०७८ बैशाख १०, शुक्रबार ०९:१७
आमा
आफैँमा एउटा कविता हुनुहुन्छ—
सखारैको
सुनौलो ओजले भरिएको
कञ्चन हिमालजस्तो
धेरै पछि आज
जीवनका यी हरिया डाँडाहरुबाट
नियालिरहेछु म
आमा
घच्घच्याइरहनु हुन्छ
केही बोले जस्तो गर्दै
लय हाल्न थाल्नु हुन्छ आमा
ऋचा र श्लोकहरुमा
जब
मध्यान्नको वतास चल्न थाल्छ
बरन्डामा
म कान थापेर सुन्छु आमालाई
र सोध्छु
ठाउँठाउँमा अर्थ
आमा अर्थ्याउनु हुन्छ
खोल्दै जानु हुन्छ
मिठ्ठो गरी
मिथकका पोकाहरु, गाँठाहरु,
जीवन उपयोगी पाठहरु
गाँस्दै जानु हुन्छ आमा
नयाँ पुराना
संघर्षका कथाहरुसँग
जो आफैँमा मिथकजस्ता लाग्छन्
भन्नु हुन्छ,
‘हैन, संघर्ष
यो धराको भन्दा ठुलो
गर्दैन कसैले संसारमा…
केही सिक्नु
त धराबाट सिक्नू…
र सबै भन्दा बढी
करुणा सिक्नू’
र म झसङ्ग हुन्छु—
आमालाई सुनेर, बुझेर।
गम्छु— पत्तै नपाई
कसरी,
कति खेर
कविताको आकार र आवाजजस्तो अनुभूति
जीवन हुने रहेछ
र जीवन
सुन्दर कविता हुने रहेछ…
105 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal